बिर्तामोड (झापा) — झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नयाँ वर्ष २०८३ को अवसर पारेर बालबालिकाहरूका लागि १५ दिने विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ७ गतेदेखि वैशाख २१ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा नवजात शिशुदेखि अन्य बालबालिकाको स्वास्थ्य परीक्षणमा विशेष सहुलियत दिने घोषणा गरेको हो ।
झापालाई मेडिकल हबका रूपमा चिनिए पनि बालबालिकाका लागि मात्र समर्पित छुट्टै अस्पताल नभएको अवस्थामा जिल्लाकै पहिलो बाल अस्पतालका रूपमा आफूहरूले सेवा दिइरहेको अस्पतालले जनाएको छ । अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुजता मैनाली आचार्यका अनुसार शिविर अवधिभर ओपिडी (इएम्) सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ । यस्तै, ल्याब परीक्षण, भिडियो एक्सरे लगायतका अन्य प्राविधिक परीक्षण र औषधि खरिदमा समेत २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
“बालबालिकाको समग्र स्वास्थ्य परीक्षण र उपचार सेवालाई सहज पहुँचमा ल्याउने हाम्रो मुख्य उद्देश्य हो,“ डा. आचार्यले भनिन्, “आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने बालबालिकाका लागि यो शिविरले ठूलो राहत पुग्ने विश्वास लिएका छौं । अस्पतालमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्य नेतृत्वको टोलीले २४ सै घण्टा सेवा प्रवाह गरिरहेको छ । आधुनिक जापानी प्रविधिका उपकरण, इको (भ्ऋज्इ) र इसीजी (भ्ऋन्) सहितको सुविधा रहेको यस अस्पतालले जटिल स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारमा जोड दिँदै आएको छ ।
“स्थानीय तहसँगको समन्वयमा गाउँमै शिविर“ अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तह र संघ–संस्थाहरूसँगको समन्वयमा ग्रामीण क्षेत्रमै पुगेर शिविर सञ्चालन गर्न तयार रहेको समेत जानकारी दिएको छ । गरिब तथा विपन्न वर्गका बिरामीलाई स्थानीय तहको सिफारिसमा जुनसुकै समयमा पनि २० प्रतिशत छुट दिने अस्पतालको नीति रहेको विज्ञप्तिमा उल्लेख छ । पन्ध्र दिनसम्म चल्ने यो शिविरमा बालरोग परीक्षणका साथै पोषण सम्बन्धी परामर्श समेत विशेषज्ञहरूले प्रदान गर्नेछन् । अस्पतालले बिर्तामोड र आसपासका अभिभावकहरूलाई आफ्ना बालबालिकाको स्वास्थ्य परीक्षण गराई शिविरबाट लाभ लिन आग्रह गरेको छ । उक्त पत्रकार सम्मेलजमा अस्पतालकी अध्यक्ष लिला मैनाली, अस्पतालका प्रबन्ध निर्देशक बाल रोग विशेषज्ञ डा. रुपक आचार्य र सञ्चालक मदन गोपाल सुब्बाले अस्पतालको सेवा सुविधाका बारेमा पत्रकारलाई जानकारी दिएका थिए ।


















