कुनै पनि देश केवल भूगोलले मात्र पूर्ण हुँदैन। हरेक देशका आफ्नै संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज तथा जीवनशैली हुन्छन्। त्यस भूगोलभित्र बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीहरूले अभ्यास गर्ने संस्कार–संस्कृतिको समष्टिगत स्वरूप नै राज्य हो। यिनै परम्परा र संस्कृतिको निरन्तरता नै राष्ट्रियताको आधार हो।
नेपाल संसारका प्राचीन राष्ट्रहरूमध्ये एक हो। संस्कृतजस्तो विश्वकै प्राचीन तथा जननी भाषाको उद्गमस्थल, मानव सभ्यता र सृष्टिको प्रारम्भ भएको भनिने हिमवत्खण्डभित्र पर्ने देश नेपाल सांस्कृतिक, धार्मिक र सभ्यतागत दृष्टिले अत्यन्तै समृद्ध र गौरवपूर्ण छ। “विविधतामा एकता” भन्ने मूल मन्त्रलाई जीवन्त रूपमा अभ्यास गर्ने राष्ट्र नेपाल हो, जहाँ १२५ भन्दा बढी जातजाति र भाषाभाषीहरूको बसोबास छ। नेपालमा मनाइने सबै जातजातिका पर्वहरूमा सबै नेपालीको साझा अपनत्व देखिन्छ।
आज हामी मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्ति (माघी) पर्व मनाइरहेका छौँ। आज माघ महिनाको पहिलो दिन हो। ज्योतिषशास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई “मकर सङ्क्रान्ति” भनिएको हो। सूर्यको कर्कट राशिमा प्रवेश गर्ने साउने सङ्क्रान्ति र मकर राशिमा प्रवेश गर्ने माघे सङ्क्रान्तिलाई धार्मिक दृष्टिले विशेष महत्त्व दिइन्छ। यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ सर्दै जाने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। यद्यपि पुष ७ गतेदेखि नै दिन लम्बिन थाले पनि माघ १ गतेलाई औपचारिक रूपमा मान्यता दिइन्छ।
माघे सङ्क्रान्तिका दिन नदी, ताल तथा तीर्थस्थलमा स्नान गर्ने, विशेषगरी गङ्गा स्नान गर्ने परम्परा छ। यस अवसरमा विभिन्न नदी र तालहरूमा मेला लाग्छ। पूर्वी नेपालस्थित कनकाई नदीमा पनि आज विशाल र व्यवस्थित मेला लागेको छ, जहाँ भक्तजनहरू बिहान सबेरैदेखि स्नान गर्न पुग्ने गरेका छन्।
माघे सङ्क्रान्तिलाई बाली भित्र्याउने पर्व, सूर्य उपासनाको उत्सव तथा लामो दिनको स्वागतको प्रतीकका रूपमा लिइन्छ। यस दिन चङ्गा उडाउनु, तिलका सुकेका झिगटा बाल्नु, खरानीलाई विभूति मानी टीका लगाउनु, नदीमा सूर्यको पूजा गर्नु, उपवास बस्नु, कला र नृत्य प्रस्तुत गर्नु तथा ‘सङ्गिनी’ जस्ता लोकगीत गाउने चलन छ।
नेपालभर माघे सङ्क्रान्ति विभिन्न नदीमा स्नान गरी मन्दिरमा पूजा–अर्चना गरेर घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कनकाई, मेची नदी तथा भारतका प्रयाग र गङ्गासागरजस्ता तीर्थस्थलहरूमा स्नान, दान र श्रद्धा व्यक्त गर्नेहरूको ठूलो भीड लाग्छ। भविष्यपुराण, विष्णुपुराण र धर्मसिन्धु ग्रन्थअनुसार यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहित सिदा दान गरेमा विशेष पुण्य प्राप्त हुने र ती पदार्थ स्वयं सेवन गरेमा शरीर स्वस्थ, पोषिलो र निरोगी हुने उल्लेख छ।
“मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने” यस पर्वमा गुरु, पुरोहित तथा ब्राह्मणहरू आफ्ना यजमानकहाँ गई पर्वको महिमा सुनाउने चलन छ। महिमा श्रवणपछि गुरु–पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल र लड्डुसहित सिदा दान गर्ने परम्परा रहेको छ।
शिशिर ऋतुमा पर्ने यो पर्वमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा ऊर्जाको मात्रा बढ्ने, तागत मिल्ने र चिसोबाट बचाउने विश्वास गरिन्छ। मास मिसाएर पकाइएको तेल शरीरमा लगाउँदा छालासम्बन्धी रोग नाश हुने जनविश्वास छ। वास्तवमा हाम्रा अधिकांश पर्वहरूमा धार्मिक, सांस्कृतिक र वैज्ञानिक तीनै पक्ष समेटिएका हुन्छन्।
महाभारतअनुसार भीष्म पितामहले यही दिन देहत्याग रोजेका थिए भने राजा भगिरथले यही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएको प्रसङ्ग छ। त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई “महास्नान” पनि भनिन्छ।
नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण एउटै पर्व विभिन्न समुदायले फरक–फरक ढङ्गले मनाउने परम्परा छ। माघे सङ्क्रान्ति यसको उत्कृष्ट उदाहरण हो। थारु समुदायले यस पर्वलाई “माघी” भनेर नयाँ वर्षका रूपमा मनाउँछन्। मगर समुदायमा यो पर्व “माघ्या” वा “सेर्ल्हेस” नामले चिनिन्छ। हिमाल, पहाड र तराईका क्षेत्रहरूमा बसोबास गर्ने ब्राह्मण, क्षेत्री, राई, लिम्बु, नेवार, गुरुङ, मगरलगायत सबै जातजातिले आफ्नै परम्परा र विशेषताअनुसार यो पर्व मनाउने गर्छन्।


माघे सङ्क्रान्ति आउनु एक–दुई दिनअघि गाउँघरमा घरायसी औजार बोकेर वनजङ्गल गई वनतरुल, तरुल आदि कन्दमूल ल्याउने चलन पनि छ। धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि यो पर्व अत्यन्तै महत्त्वपूर्ण छ। धार्मिक विश्वासअनुसार यस दिन घर, आँगन र शरीर शुद्ध नगरे सात जन्मसम्म निर्धन र रोगी हुने भनिन्छ भने वैज्ञानिक रूपमा हेर्दा सरसफाइ, मौसमअनुकूल पोषणयुक्त खानपान र स्वस्थ जीवनशैली अपनाइने भएकाले यस पर्वलाई अत्यन्त सकारात्मक मानिन्छ।
काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले यस पर्वलाई “घ्यू–चाकु सँल्हु” भनी मनाउँछन्। यस दिन तिल मिसाइएको चाकुबाट लड्डु बनाई खाने र दान दिने गरिन्छ। बिहान स्नान गरी घर सफा गर्ने, देवी–देवताको पूजा गर्ने, परिवारका सबै सदस्य एकत्रित भई मिठा परिकार खाँदै घाम ताप्ने, दुःख–सुख साटासाट गर्ने, भजन–कीर्तन गर्ने परम्परा छ।
यसै दिन भक्तपुरको टौमढी टोलस्थित तिलमाधव नारायण मन्दिरमा मेला लाग्छ र दीपङ्कर बुद्धको पूजा गरिन्छ। त्यहाँ चढाइएको घिउ सन्तान नहुने महिलाले शुद्ध भई सेवन गरेमा सन्तान प्राप्ति हुने विश्वास छ। नारायणको मूर्तिमा घिउ दलेर तिल चढाउने र चार दिनपछि त्यो घिउ–तिल भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा पनि रहेको छ। उपत्यका नजिकैको पनौतीमा लाग्ने मकर मेला लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान गरिन्छ।
यसरी माघे सङ्क्रान्ति पर्व धार्मिक (ज्योतिषशास्त्रीय), सामाजिक सद्भाव तथा वैज्ञानिक दृष्टिले समान रूपमा महत्त्वपूर्ण पर्व हो।
माघे सङ्क्रान्तिको हार्दिक शुभकामना।
लेखक:
इन्द्र प्रसाद ओली
अध्यक्ष, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल
तथा चेतना नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार