काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग गत पुस १४ गते भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ।
शनिबार साँझ बसेको आकस्मिक सचिवालय बैठकले १२ दिनअघि भएको सहमतिको प्रक्रिया टुंग्याएको हो। रास्वपाका अनुसार सहमतिमा परिमार्जन र पूरक प्रस्तावहरू लगातार उनेपाबाट आइरहेकाले शीर्ष नेतृत्वको बैठकहरूपछि पनि एकता प्रक्रिया अघि बढ्न सकेको थिएन।
पार्टीको विज्ञप्तिमा भनिएको छ, “हामी सहमतिको मूल उद्देश्यलाई संस्थागत गर्न नसक्दा अनुमोदन नगर्ने निर्णयमा पुगेका छौं। हाम्रो प्राथमिकता लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिगत शासन, सामाजिक न्याय र समावेशी विकासमा साझा प्रतिबद्धता निर्माण गर्नु हो।”
रास्वपाले भनेको छ कि, आगामी निर्वाचनमा स्थापित दलहरूको जडता र स्वार्थकेन्द्रित राजनीतिलाई चुनौती दिन सक्ने बलियो राष्ट्रिय राजनीतिक शक्ति बन्ने प्रयास जारी रहनेछ। यसक्रममा वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग निरन्तर संवादमा रहने पार्टीको प्रतिबद्धता छ।
रास्वपाले उनेपाको नेतृत्व तथा संगठनलाई आगामी दिनका लागि शुभकामना व्यक्त गरेको छ। पार्टीले सहकार्यको १२ दिनको अभ्यास अनुमोदन नगरे पनि भविष्यमा संवादको ढोका बन्द नगर्ने जनाएको छ।


















