काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका समस्याबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले कार्यक्षेत्रमा आइपर्ने प्राविधिक तथा भौतिक असहजताबारे जानकारी गराएको हो। अध्यक्ष वन्तले संसद्को फोटो खिच्ने क्रममा हुने अवरोध र कार्यक्षेत्रको साँघुरो स्थानका कारण गुणस्तरीय काम गर्न कठिन भएको भन्दै सभामुखलाई सहजीकरणका लागि आग्रह गरे।

जवाफमा सभामुख अर्यालले हाल संसद् बैठक सञ्चालन भइरहेको नयाँ बानेश्वरस्थित भवन अस्थायी रहेकाले केही समस्या देखिएको स्वीकार गरे। उनले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै नयाँ भवनमा सरेपछि फोटो पत्रकारका सबै समस्या समाधान हुने विश्वास दिलाए।
”नयाँ संसद् भवन सञ्चालनका लागि तयारी तीव्र पारिएको छ, निकट भविष्यमै त्यहाँबाट बैठक सुरु हुनेछ,” सभामुख अर्यालले भने, “त्यसपछि फोटो पत्रकारहरूका लागि आवश्यक स्थान र सुविधाको उचित व्यवस्थापन हुनेछ।” उनले फोटो पत्रकारहरूको पेशागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको र आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।

भेटमा एनएफपिजेका पदाधिकारीहरूले सभामुखलाई कार्यकाल सफलताको शुभकामना दिँदै संसदीय रिपोर्टिङलाई अझ प्रभावकारी बनाउन प्रविधिमैत्री वातावरण निर्माण गरिदिन ध्यानाकर्षण गराएका थिए।

















