झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका–३ स्थित दीपेन्द्र आधारभूत विद्यालयमा पूर्व प्रधानाध्यापक दीर्घराज आचार्य र उहाँको परिवारले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा सरस्वती मन्दिर निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ।
सोमबार आयोजित एक विशेष समारोहका बीच दीर्घराज सर, उहाँकी धर्मपत्नी अनिता बिमली, छोरा र बुहारीले संयुक्त रूपमा मन्दिरको शिलान्यास गर्नुभएको हो। ३७ वर्षसम्म सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा सेवा गरी हाल निवृत्त हुनुभएका सरले विद्यालयप्रतिको माया, सम्मान र सामाजिक उत्तरदायित्व स्वरूप उक्त पवित्र कार्य अघि बढाउनुभएको बताइएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले दाता परिवारको यस योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै सरस्वती मन्दिर निर्माणले विद्यालयको शैक्षिक वातावरणसँगै आध्यात्मिक वातावरणसमेत सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीले यस पहललाई प्रेरणादायी भन्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, अनुशासन र सांस्कृतिक मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।

















