वीरगन्ज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको बहुदरमाई नगरपालिका वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित देखिएका थिए। उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब साढे ११ बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए। कोठाको ढोका फलामको भएकाले तत्काल फुटाउन कठिन भएको र ढोका खोलेर हेर्दा उनले तन्नाको पासो लगाइसकेको परिवारले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको थियो। मृतकको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाब नदिन र यस्तो संवेदनशील अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन्। नेपालमा हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू दोहोरिने गरेकाले यसप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।फाइल तस्बिर

















