भद्रपुर, झापा । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा सञ्चालित तीन दिवसीय प्राथमिक उपचार तालिम एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूलाई आपत्कालीन अवस्थामा घाइतेहरूको जीवन रक्षाका लागि सक्षम बनाउने उद्देश्यले आयोजित उक्त तालिमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले तालिम सफलतापूर्वक पुरा गर्ने सहभागी प्रहरीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले दुर्घटना वा विपद्को समयमा घटनास्थलमा सबैभन्दा पहिले प्रहरी पुग्ने भएकाले, घाइतेलाई अस्पताल पुर्‍याउनु अघि दिइने प्राथमिक उपचारले धेरैको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख, प्रहरी उपरीक्षक (SP) बसुन्धरा खड्काले तालिममा सिकेका सीप र ज्ञानलाई कार्यक्षेत्रमा उच्च व्यावसायिकताका साथ प्रयोग गर्न सहभागीहरूलाई निर्देशन दिनुभयो।

​नेपाल रेडक्रस सोसाइटी झापाका दक्ष प्रशिक्षकहरूले सहजीकरण गरेको उक्त तालिममा सहभागीहरूलाई रक्तश्राप नियन्त्रण, कृत्रिम श्वासप्रश्वास (CPR), र हाडजोर्नी भाँचिदा गरिने तत्कालिन उपचारका विधिहरू सिकाइएको थियो। रेडक्रस झापाका सभापति लोकराज ढकालले मानवीय सेवाका क्षेत्रमा प्रहरी र रेडक्रस बीचको यो समन्वयले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालय र रेडक्रसको यो संयुक्त प्रयासले जिल्लाभित्र हुने सडक दुर्घटना तथा अन्य विपद्का समयमा प्रहरीको प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार