काठमाडौं : सम्पादक समाज नेपालको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा फोटो पत्रकारहरूका लागि आयोजित दुई दिने प्राथमिक उपचार (फर्स्ट एड) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको भवनमा सञ्चालन गरिएको यस विशेष तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत १० जना सक्रिय फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।

​तालिम समापनको विशेष अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु बस्नेत, रेडक्रस जिल्ला शाखाका सदस्य नवराज काफ्ले र समाजका संरक्षक किरण वैद्यको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा अतिथिहरूको बाहुलीबाट सहभागी फोटो पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। दुई दिनसम्म चलेको यस तालिममा दुर्घटना, प्राकृतिक विपद् तथा आपत्कालीन परिस्थितिहरूमा चाहिने प्राथमिक उपचारका आधारभूत सीप, घाइतेहरूको सुरक्षित उद्धार, रक्तस्राव नियन्त्रणका साथै हाडजोर्नी तथा चोटपटक व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयहरूमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले फोटो पत्रकारहरू प्रायः सभा-जुलुस, आन्दोलन, दैवी विपत्ति र अन्य जोखिमपूर्ण घटनास्थलहरूमा ज्यानको बाजी थापेर अग्रपंक्ति (फ्रन्टलाइन) मा खटिने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर राख्दै यो तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले फिल्डमा काम गर्दा आफैं वा आफ्ना सहकर्मीहरू घाइते भएको खण्डमा तत्काल प्राथमिक उपचार गरेर अवस्थालाई थप जटिल हुन नदिई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन यो सीपले ठुलो सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो।

​यसैगरी, प्रशिक्षणपछि सहभागीहरूको तर्फबाट बोल्दै फोटो पत्रकार शम्भु दंगालले वर्तमान परिवेशमा फोटो पत्रकारहरूका लागि यो फर्स्ट एड तालिम अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताउनुभयो। उहाँले थप्नुभयो कि कुनै पनि जोखिमयुक्त क्षेत्रमा फोटो पत्रकारहरू नै सबैभन्दा पहिले पुग्ने भएकाले उनीहरूमाथि दुर्घटनाको खतरा बढी रहन्छ। यस्तो अवस्थामा यस तालिमबाट प्राप्त ज्ञानले फिल्डमा काम गर्दा आफू र आफ्ना साथीहरूको सुरक्षा सुनिश्चित गर्न एउटा दह्रो हतियारको काम गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार