कनकाई (झापा) । सुरुङ्गा प्रेस क्लब कनकाईको आयोजना र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा झापाको सुरुङ्गामा दुई दिने ‘तथ्य जाँच (फ्याक्ट चेक) तथा मोबाइल पत्रकारिता तालिम’ सुरु भएको छ। कनकाई-३ स्थित होटल डिलाइटको सभाहलमा जेठ २३ गतेदेखि सुरु भएको सो तालिम २४ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं कनकाई नगरपालिकाकी कार्यवाहक नगर प्रमुख आशा शर्मा सिवाकोटीले पत्रकारिता क्षेत्र समाजको ऐना, समालोचक र सल्लाहकार भएको बताउनुभयो। उहाँले पत्रकारहरूले आफैँले आफ्नो मूल्यांकन गर्नुपर्ने र दक्षता एवं क्षमता अभिवृद्धिका लागि यस्ता तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो। पत्रकारले सूचना संकलन र सम्पादन गरी प्रकाशन गर्दा जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उहाँले झापामा २०१० सालमा प्रकाशित ‘केटो’ पत्रिकादेखिको पत्रकारिताको इतिहास स्मरण गर्नुभयो। साथै उहाँले प्रशिक्षक मोहनप्रसाद मैनालीद्वारा लिखित पुस्तक निकै उपयोगी रहेको समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि एवं नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिता क्षेत्रले जहिले पनि समाज र राज्यका संयन्त्रहरूमाथि रचनात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो। अहिलेको डिजिटल युगमा भ्रामक र गलत सूचना मुख्य चुनौती बनेको चर्चा गर्दै उहाँले मोबाइलको सही सदुपयोग र तथ्य जाँचको प्रविधि सिक्नु आजको पत्रकारिताका लागि अनिवार्य भइसकेकोमा जोड दिनुभयो। महासंघले जहिले पनि पत्रकारहरूको क्षमता विकास र व्यावसायिक मर्यादालाई प्राथमिकतामा राखेको भन्दै उहाँले यो तालिमले मोफसलको पत्रकारितालाई थप विश्वसनीय र परिष्कृत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई नगरपालिकाका वडा अध्यक्षहरू सुशीलकुमार पोखरेल, रोशन सुवेदी, लक्ष्मीप्रसाद ओली र युवराज चम्लागाईले स्थानीय तह र पत्रकारिता परिपूरक हुनुपर्नेमा जोड दिनुभयो। वडा अध्यक्षहरूले समाजका वास्तविक समस्या उजागर गर्न र विकास निर्माणका कार्यमा रचनात्मक दबाब सिर्जना गर्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
यस्तै, कनकाई नगरपालिकाका योजना शाखा प्रमुख बद्रीकुमार दाहालले कतिपय सामाजिक सञ्जाल र मिडियामा सीमा लगायतका विषयमा आउने भ्रामक समाचारको उदाहरण दिँदै पत्रकारिता गर्ने व्यक्तिको मुख्य धर्म सत्य, तथ्य र अनुसन्धानमूलक हुनुपर्ने बताउनुभयो। बरु समाचार सम्प्रेषणमा केही ढिलाइ होस्, तर सही र आधिकारिक सूचना मात्र बाहिर आओस् भन्दै उहाँले गलत र हतारको सूचनाले समाजमा दुर्घटना निम्त्याउन सक्ने तर्फ सचेत गराउनुभयो।
तालिमका मुख्य प्रशिक्षक तथा वरिष्ठ पत्रकार मोहनप्रसाद मैनालीले पत्रकारिता सधैँ साँचो र तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो। सत्ता वा शक्तिमा रहेकाहरूले जे भने पनि पत्रकारले त्यसको गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने र जनतामा सधैँ सकारात्मक तथा सत्य सन्देश प्रवाह गर्नुपर्नेमा उहाँको जोड थियो। स्थानीय समाजसेवी ख्याम प्रसाद ओलि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
सुरुङ्गा प्रेस क्लबका अध्यक्ष लीला राज खड्का ‘झापाली’ को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्लबका उपाध्यक्ष सीएम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव मनोज बस्नेतले गर्नुभएको थियो। दुई दिनसम्म चल्ने उक्त तालिममा स्थानीय क्षेत्रका सक्रिय सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

















