बिर्तामोड। झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्रबार (जेठ २ गते) बेलुकी साढे ६ बजे कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्री सोही ठाउँका ७० वर्षीय शंखर प्रसाद ढुङ्गानालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट ढुङ्गानाको बायाँ खुट्टा र कानमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते र बोल्न नसक्ने अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा राति पौने १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय लुडो सतार र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ । AI निर्मित तस्वीर

















