बिर्तामोड । झापाको कनकाई नगरपालिका-५ चाप्रमारीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा झापाकै कमल गाउँपालिका-५ बस्ने २६ वर्षीय ‘काले’ भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका-६ का २० वर्षीय प्रदिप रसायली रहेका छन्।
जेठ १ गते बेलुका अन्दाजी ६:०० बजेको समयमा अस्थायी प्रहरी पोस्ट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्र श्रेष्ठको कमाण्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले चाप्रमारी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। शंका लागेर खानतलास गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित १५ ग्राम २१० मिलिग्राम र प्लास्टिक बाहेक ११ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लेसिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित समातिएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।AI निर्मित तस्बिर
