भद्रपुर, १९ असार । झापाको मेचीनगर नगरपालिकामा बिहीबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा एक सर्वसाधारणको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट झन्डै ४२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

​प्रहरी चौकी चारआलीका अनुसार मेचीनगर नगरपालिका वडा नं. १४ दुवागढी निवासी चुडामणी गुरागाईको घरमा बिहीबार बिहान अन्दाजी १०:४५ बजे अचानक विद्युत सर्ट भएर आगो सल्केको थियो । काठको बेरा र टिनको छानो भएको ४ कोठे एक तल्ले घरमा सल्किएको आगो द्रुत गतिमा फैलिएको थियो ।

​आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, नगद रुपैयाँ, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य सम्पूर्ण घरायसी सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट कुल ४२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

​समयमै स्थानीय बासिन्दा र सुरक्षाकर्मी सक्रिय भएकाले ठूलो मानवीय वा चौपाया क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

​घटनलगत्तै खटिएको स्थानीय प्रहरी, स्थानीय बासिन्दा र मेचीनगर नगरपालिकाका दुईवटा दमकलको संयुक्त प्रयासमा बिहान ११:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । पीडित परिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार