दमक (झापा)— ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका लागूऔषध मुद्दाका फरार प्रतिवादी ९ महिनापछि पुनः पक्राउ परेका छन् ।

​पक्राउ पर्नेमा मोरङको विराटनगर–६ स्थायी ठेगाना भई हाल झापाको दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय भोला भन्ने भगवानलाल राय रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार बेलुकी दमक–६ स्थित पूर्वी बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रायलाई २०८२ भदौ १९ गते बेलुकी झापाको कमल गाउँपालिका–५ पाँडाजुँगीबाट ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो । जिल्ला अदालत झापाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेकै बेला उनी फरार भएका थिए ।

​गत वर्ष भदौ २४ गते देशव्यापी रूपमा चर्किएको ‘जेन्जी आन्दोलन’ (Gen Z Movement) का क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको प्रदर्शन र भिडभाडको फाइदा उठाउँदै राय हिरासत कक्षबाटै भाग्न सफल भएका थिए ।

​फरार भएदेखि नै प्रहरीले उनको खोजी तीव्र पारेको थियो । लुकिछिपी बसिरहेको अवस्थामा ९ महिनापछि उनी पुनः प्रहरी फन्दामा परेका हुन् । नियन्त्रणमा लिइएका रायमाथि लागूऔषध र हिरासतबाट फरार भएको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार