भद्रपुर (झापा) — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच भएको सहमति अनुसार झापाको भद्रपुरमा एक दिने ‘साना तथा मझौला उद्यमीहरूको प्रबर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झापा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित उक्त कार्यक्रमको आयोजना झापा उद्योग वाणिज्य संघ, भद्रपुरले गरेको हो भने यसमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सहयोग पुर्‍याएको थियो । कार्यक्रममा स्थानीय क्षेत्रका साना तथा मझौला व्यवसायीहरूको प्रबर्द्धन र विकासका विविध पक्षहरूमाथि गहन छलफल गरिएको छ ।
​झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल र उपप्रमुख राधा कार्कीले नगरको आर्थिक विकासका लागि साना व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरू उमेश डालमिया, आदित्य पराजुली र एम बहादुर श्रेष्ठ लगायतले वर्तमान आर्थिक अवस्था र व्यवसायीका चुनौतीबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।
​छलफलका क्रममा उदय परियोजनाका तर्फबाट राज उप्रेती र सविन नेपालले परियोजनाको उद्देश्यमाथि प्रकाश पार्दै साना तथा मझौला उद्यमीहरूलाई कसरी प्रवर्द्धन गरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो । व्यवसायीहरूलाई आवश्यक ऋण प्रवाह र व्यवसायको वित्तीय सुरक्षाका विषयमा केन्द्रित सो कार्यक्रममा ग्लोबल आइएमई बैंक भद्रपुरका प्रबन्धक निकास पाण्डेले बैंकिङ प्रक्रिया र बैंकका तर्फबाट व्यवसायीले लिन सक्ने फाइदाहरूका बारेमा स्पष्ट पार्नुभएको थियो । भद्रपुर क्षेत्रका ८० जनाभन्दा बढी उद्यमीहरूको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण वाणिज्य सङ्घका प्रेस सल्लाहकार रोहित काफ्लेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार