नवरात्रको पाँचौं दिन दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विशेष आराधना गर्ने परम्परा छ ।
नवरात्रका नौ दिन घटस्थापनाको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रको पाठ गरिन्छ । धार्मिक विश्वासअनुसार देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने मान्यता छ ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन् । यस अवधिभर पूजाआराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । यसरी करिब १५ दिनसम्म नेपालीले बडादशैं पर्व भव्यताका साथ मनाउने परम्परा रहिआएको छ ।
दशैंलाई दुर्गा पक्ष पनि भनिन्छ । यस अवधिमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।

















