​झापा, असार ११ । ​झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको १९औँ नियमित अधिवेशनमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गर्नुभएको हो। नगरपालिकाले यसपटक भौतिक पूर्वाधार विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।

​सार्वजनिक बजेटअनुसार पूर्वाधार विकासतर्फ सबैभन्दा बढी १० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ। यसैगरी वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड २५ लाख रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख रुपैयाँ र आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।

​नगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १७ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १४ करोड ४७ लाख रुपैयाँ र सशर्त अनुदानबापत ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ १ करोड ६० लाख २३ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। आन्तरिक स्रोततर्फ नगरपालिकाले आन्तरिक राजस्वबाट ७ करोड ५० लाख रुपैयाँ, मालपोत रजिष्ट्रेसनबाट ५ करोड रुपैयाँ र जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

​चालु आर्थिक वर्षको समीक्षा गर्दै उपप्रमुख पराजुलीले ९८ करोड ९९ लाख रुपैयाँको बजेटमध्ये हालसम्म ६७ प्रतिशत खर्च भइसकेको र असार मसान्तसम्ममा खर्च प्रगति ८५ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो। गत वर्ष भएको आन्दोलनका क्रममा नगर कार्यपालिका तथा वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडबाट १६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उहाँले उल्लेख गर्नुभयो। यद्यपि, प्रतिकूलताका बीच पनि सेवा प्रवाहलाई छिट्टै नियमित बनाइएको उहाँको भनाइ थियो।

​आगामी वर्षका लागि अर्जुनधाराले रैथाने बाली संरक्षण, साना किसानलाई प्रविधि हस्तान्तरण, प्रदेशकै नमुना पशु अस्पताल सञ्चालन र स्थानीय पाठ्यपुस्तक ‘हाम्रो अर्जुनधारा’को पठनपाठनलाई निरन्तरता दिने भएको छ। यस्तै, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी, विपन्न परिवारको आवास मर्मत, अटिजम केयर सेन्टर स्थापना तथा ज्येष्ठ नागरिकका लागि वडास्तरमै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम बजेटमा समेटिएका छन्। सूचना प्रविधिमार्फत डिजिटल सुशासन संस्थागत गर्ने, जग्गा अतिक्रमण नियन्त्रण गर्ने र भूमिहीन सुкуम्बासीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत नगरले जनाएको छ। नगरसभाका सभाध्यक्ष एवं नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरसभाको अधिवेशन असार १२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार