नरेन्द्र क्षेत्री। कोलकाता । पश्चिम बंगाल विधानसभा निर्वाचनको अत्यन्तै महत्त्वका साथ हेरिएको पहिलो चरणको मतदान आज बिहीबार बिहानैदेखि उत्साहजनक रूपमा सुरु भएको छ। उत्तर र दक्षिण बंगालका १६ वटा जिल्लामा फैलिएका १५२ विधानसभा क्षेत्रहरूमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया अगाडि बढेको हो। कतिपय मतदान केन्द्रहरूमा आधिकारिक समय सुरु हुनुअगावै मतदाताहरूको लामो लाम लागेको देखिएको छ, जसले यसपटकको निर्वाचनमा सर्वसाधारणको उच्च चासो र उत्साहलाई प्रतिविम्बित गर्दछ।
यसपटकको निर्वाचनमा सुरक्षा र पारदर्शितालाई मध्यनजर गर्दै निर्वाचन आयोगले विशेष प्रबन्ध मिलाएको छ। प्रत्येक मतदान केन्द्रमा मतदाताहरूले दुई तहको प्रमाणीकरण प्रक्रिया पार गर्नुपर्ने नियम बनाइएको छ। पहिलो चरणमा केन्द्रीय सशस्त्र प्रहरी बलका जवानहरूले मतदान परिसरमा प्रवेश गर्नुअघि जाँच गर्नेछन् भने दोस्रो चरणमा सम्बन्धित बुथ तहका अधिकारीहरूले मतदान कक्षमा प्रवेश गराउनुअघि विवरण रुजु गर्नेछन्। मतदान प्रक्रियालाई निष्पक्ष र शान्तिपूर्ण बनाउन २४०७ कम्पनी केन्द्रीय सुरक्षा बलका साथै स्थानीय प्रहरी टोलीहरू परिचालन गरिएको छ।
यद्यपि, मतदानको सुरुवाती समयमा केही स्थानहरूमा प्राविधिक समस्याहरू देखिएका छन्। पश्चिम बर्दवानको दुर्गापुर, उत्तर बंगालको दार्जिलिङस्थित सिलगुडी र मुर्शिदाबादको बहारामपुरका केही मतदान केन्द्रहरूमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मा खराबी आएका कारण निर्धारित समयमा ‘मक्क पोलिङ’ हुन सकेन। तर, ती समस्याहरूलाई तत्काल समाधान गरी मतदान पुनः सुचारु गरिएको छ। विशेष सुरक्षा संवेदनशीलता भएका सातवटा जिल्लालाई निर्वाचन आयोगले विशेष निगरानीमा राखेको छ भने सबै केन्द्रहरूमा वेबकास्टिङमार्फत प्रत्यक्ष अनुगमन भइरहेको छ। बाँकी १४२ सिटका लागि वैशाख १६ गते मतदान हुनेछ र सम्पूर्ण परिणाम वैशाख २१ गते सार्वजनिक गरिनेछ।


















