बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पाखा लगाउँदै बुट्टाबारीले उपाधि नजिकको यात्रा तय गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा आयोजक टोलीले आक्रामक खेल पस्कियो । खेलको ५२ औं मिनेटमा सनिल लामाले गोल गर्दै बुट्टाबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । १ गोलले पछि परेपछि दबाबमा परेको उदयपुरले बराबरीका लागि केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । खेलको अतिरिक्त समयमा बिशाल थिङले दोस्रो गोल थपेपछि बुट्टाबारीले २–० को जित सुनिश्चित गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका बुट्टाबारीका सनिल लामा ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थ्रोपाले नगद ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनलमा धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । वैशाख १२ गते हुने फाइनल खेलको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खेलकुद कपडाको ब्रान्ड ‘एनी’ मुख्य प्रायोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड नगरपालिका र कनकाई अस्पतालले समेत सहयोग गरेका छन् ।

















