भद्रपुर (झापा) — झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । सेमिफाइनल प्रवेशका लागि आज दिउँसो ३ बजे विभागीय टोली एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।

​एपीएफले यसअघि ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । अर्कोतर्फ, संकटा फुटबल क्लब भने ‘बाइ’ पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ ।

​संकटा पछिल्लो समय महिला फुटबलमा विभागीय टोलीबाहेकको सबैभन्दा सशक्त टोली मानिन्छ । गत कात्तिकमा झापामा भएको महिला गोल्डकपमा घरेलु टोली झापा एफसीलाई ६–० ले हराएको संकटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई समेत स्तब्ध पारिसकेको इतिहास छ । संकटाको टोलीमा ६ जना यु–२० राष्ट्रिय खेलाडी र भुटानकी एक राष्ट्रिय खेलाडीको उपस्थिति रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

​यता, उपाधि दाबेदार एपीएफ पनि स्टार खेलाडीहरूको बलियो सेट लिएर मैदान उत्रिनेछ । टोलीमा राष्ट्रिय टोलीका खम्बा मानिने अनिता केसी, रश्मिकुमारी घिसिङ, गीता राना, रेनुका नगरकोटी, अनिता बस्नेत र गोलकिपर अञ्जना राना जस्ता अनुभवी खेलाडीहरू रहेका छन् ।

​आजको खेलको विजेताले वैशाख १२ गते हुने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

​चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यो पुरस्कार राशि नेपालमा आयोजना हुने महिला फुटबल प्रतियोगिताहरूमध्येकै सर्वाधिक हो ।

​प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल वैशाख १४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार