लेखक: राजन अधिकारी
मैले चलचित्रहरूमा देख्दै आएको थिएँ—भ्रष्ट प्रहरीको मूल आयस्रोत लागू पदार्थ हुन्छ र भ्रष्ट शासकका लागि पनि लागू पदार्थ नै दुहुनो गाई बनेको हुन्छ। तर यस्ता प्रवृत्तिका अपवाद पनि भेटिन्छन्, र त्यस्तै एक उदाहरण हुन्—इन्द्रप्रसाद ओली।
आज लागू पदार्थ मन्द विषझैँ समाजभर फैलिएको छ। कुसङ्गतको कारण किशोर–किशोरी र युवायुवतीहरू त्यसको कुलतमा फसिरहेका छन्। देशको भविष्य मानिने यही पुस्ता नशाको जालमा अल्झिँदा अभिभावकका सपना खरानी बन्दै गएका छन्। सन्तानका लागि जीवनभरि पसिना बगाएका आमाबाबु वृद्धावस्थामा असह्य पीडा र निराशासँग जुध्न बाध्य छन्।
लागूपदार्थले क्षणिक आनन्दको झुटो संसार देखाउँछ। गहिरो निद्राको लोभ देखाएर अन्ततः चिरनिद्रातर्फ धकेल्छ। यसको प्रभाव प्रयोगकर्तासम्म सीमित हुँदैन; यसले परिवार, समाज र राष्ट्रको भविष्य नै खोस्दै जान्छ।
सीमित लोभी–पापीहरूको स्वार्थका लागि वर्षेनी करोडौँ युवायुवतीहरू मृत्युको मुखमा पुगिरहेका छन्। करोडौँ आमाबाबु सन्तान–शोकको आगोमा जल्दै छन्। शहर होस् या गाउँ—लागूपदार्थले समाजको जरा नै कमजोर बनाइरहेको छ।
पुराणअनुसार, भगवान् शिवले संसारलाई बचाउन कालकूट विष स्वयं पान गर्नुभयो र त्यसैले उहाँ नीलकण्ठ कहलिनुभयो। तर आज महाशिवरात्रि जस्तो पवित्र पर्वमा युवापुस्ता भाङको नशामा रमाउने विकृत संस्कृतितर्फ उन्मुख हुँदै गएको छ। धर्मको नाममा पातकी तस्करहरूको कालो धन्दा मौलाइरहेको यथार्थलाई बेवास्ता गर्न सकिँदैन।
शिवभूमि, नारायणभूमि, कपिलवस्तु र जनकपुर जस्ता पवित्र स्थलहरूको देश नेपाल आज लागू पदार्थको केन्द्र बन्दै गएको तीतो यथार्थलाई इन्द्रप्रसाद ओलीले आफ्नो कृति ‘दिव्य दृष्टि’ मार्फत निर्भीक रूपमा उजागर गर्नुभएको छ।
लामो समय प्रहरी–प्रशासनमा रहेर काम गर्दा ओलीले सत्यको पक्षमा उभिने साहस देखाउनुभयो। सरकार, न्यायालय र प्रहरी प्रशासनका उच्च तहमा बसेर लागूपदार्थको कारोबारलाई संरक्षण गर्दै व्यक्तिगत स्वार्थ साध्ने प्रवृत्तिका विरुद्ध उहाँ अडिग रहनुभयो।
‘दिव्य दृष्टि’ केवल पुस्तक मात्र होइन, लागूपदार्थविरुद्धको चेतनामूलक अभियान हो। यसमा युवाको जीवन–रक्षादेखि विश्वशान्ति र समृद्धिसम्मको दूरदर्शी चिन्तन समेटिएको छ। प्रहरी–प्रशासकहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे लागूपदार्थजस्तो प्रत्यक्ष मृत्यु–व्यापार आफैँ नियन्त्रणमा आउने स्पष्ट सन्देश पुस्तकले दिन्छ।
आफ्ना सन्तानलाई आध्यात्मिक संस्कार सिकाउनु र सही सङ्गततर्फ प्रेरित गर्नु हरेक अभिभावकको कर्तव्य हो भन्ने कुरा पनि पुस्तकको महत्वपूर्ण सन्देश हो।
नेपालमा गाँजाखेती स्वयंमा अवसर बन्न सक्थ्यो, तर लागू पदार्थको अवैध कारोबार र दुर्व्यसन नै विकासको सबैभन्दा ठूलो अवरोध बनेको छ। यस समस्याको अन्त्यका लागि ‘दिव्य दृष्टि’ जस्तो गहन कृति प्रभावकारी औजार बन्न सक्छ भन्ने विश्वास प्रबल हुन्छ।
४० वर्ष पुग्दै ‘बुढो भएँ’ भन्ने समाजमा, करिब ६० वर्ष नाघ्दा पनि तन्नेरी जोश, जाँगर र अनुशासनका साथ सक्रिय इन्द्रप्रसाद ओली आज पनि समाजसेवामा निर_topics सक्रिय छन्। आफ्नो ज्ञान, अनुभव र स्रोत समाजका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण उहाँले निरन्तर प्रस्तुत गरिरहनुभएको छ।

लागूपदार्थ दुर्व्यसनमा फसेका युवायुवतीहरूका लागि ठोस कार्यक्रम सुरु गर्ने अठोट गर्दै, उहाँकै पुस्तक ‘दिव्य दृष्टि’ मा आधारित विचार, परामर्श र नैतिक शिक्षालाई नेपाल प्रहरीले केही कार्यक्रमहरूमा प्रयोग गरिरहेको तथ्य उल्लेखनीय छ। तर यति ठूलो योगदानका बाबजुद लेखकलाई न औपचारिक धन्यवाद दिइएको छ, न त सार्वजनिक सम्मान—यो विडम्बनापूर्ण यथार्थ हो।

“कसैले स्यावासी देओस् या नदेओस्, समाज मेरो हो, मैले जानेको र सकेको तरिकाले समाजका लागि योगदान गर्छु” भन्ने दृढ अठोटका साथ अघि बढिरहेका इन्द्रप्रसाद ओलीलाई एक नागरिकका हैसियतले धन्यवाद दिनु बाहेक मसँग अरू केही छैन।

















