​झापा । ‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आज झापामा राष्ट्रिय सूचना प्रविधि दिवस (आईसीटी डे) भव्य रूपमा मनाइएको छ । सोही अवसरमा जिल्लाका महिला उद्यमीहरूलाई लक्षित गरी डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एकदिवसीय विशेष तालिम प्रदान गरिएको हो । फेडरेशन अफ कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) झापाको आयोजनामा भएको उक्त कार्यक्रममा तीन दर्जनभन्दा बढी महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

​तालिममा सहभागी उद्यमी महिलाहरूलाई आफ्नो उत्पादन र व्यवसायलाई डिजिटल माध्यमबाट कसरी प्रवर्द्धन गर्ने भन्नेबारे व्यावहारिक सीप सिकाइएको थियो । विशेषगरी सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट व्यवसाय विस्तार गर्ने तरिकाका साथै एआईको सहायताले आकर्षक विज्ञापनहरू तयार पार्ने र आफ्ना उत्पादनका सन्देशहरू लक्षित उपभोक्तासम्म पुर्‍याउने प्राविधिक उपायहरूका बारेमा जानकारी दिइएको थियो । तालिमको सहजीकरण पत्रकार उमाकान्त खनाल र प्रथम आईटीका विजनेश एक्जुकेटिभ सुरज चिमरियाले गर्नुभएको थियो ।

​तालिमको उद्घाटन सत्रमा बोल्दै क्यान महासंघ कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे र केन्द्रका निवर्तमान सचिव भुपेन्द्र मैनालीले राष्ट्रिय सूचना प्रविधि दिवसको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँहरूले वर्तमान समयमा प्रविधिको प्रयोगविना व्यवसायिक सफलता सम्भव नरहेको उल्लेख गर्दै क्यान महासंघले सूचना प्रविधिको विकासमा खेलिरहेको भूमिकाबारे विस्तृत चर्चा गर्नुभयो ।

​तालिम पश्चात् प्रतिक्रिया दिँदै महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष शर्मिला अधिकारी र उद्यमी एलिना रिजालले यस्तो लाभदायी तालिम लिन पाएकोमा आफूहरूलाई धन्य ठानेको बताउनुभयो । उहाँहरूले सिकेको प्रविधिलाई आफ्नै व्यवसायमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष लोकनाथ खनालले गर्नुभएको थियो भने सदस्य गोपाल काफ्लेले शाब्दिक स्वागतसहित कार्यक्रमको आवश्यकता र औचित्य प्रष्ट्याउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार