बिर्तामोड, ११ असार । ​बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो।

​प्रस्तावित बजेटको स्रोतका रूपमा आन्तरिक आम्दानी, सङ्घीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई समेटिएको छ। यस्तै, बेरुजु असुलीबाट प्राप्त हुने ७ लाख रुपैयाँलाई समेत आयमा गणना गरिएको नगरपालिकाले जनाएको छ।

​पूर्वाधार विकासमा सबैभन्दा बढी रकम, प्रशासनिक खर्च २४ करोड : ​नगरपालिकाले यस पटक पनि भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। पूर्वाधारतर्फ कुल ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, नगरपालिकाको प्रशासनिक एवं चालु खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

​सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय कार्यक्रमका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

​कृषि, रोजगारी र शिक्षामा कति ? : ​आर्थिक विकासअन्तर्गत कृषि, पशुपालन, उद्यम विकास, रोजगारी, सीपमूलक तालिम, पर्यटन लगायतका कार्यक्रमका लागि ३ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमध्ये कृषि विकासका लागि मात्रै १ करोड ६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

​यस्तै, शिक्षा क्षेत्रको सुधारका लागि ३ करोड १८ लाख रुपैयाँ, स्वास्थ्य कार्यक्रमका लागि १ करोड रुपैयाँ र सहकारी प्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप तथा रोजगारी प्रवर्द्धनका लागि ७१ लाख रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापनका क्षेत्रमा १ करोड ७० लाख रुपैयाँ खर्च गरिने भएको छ।

​आन्तरिक आम्दानी नबढ्नु र अनुदानमा निर्भरता मुख्य चुनौती: नगर प्रमुख प्रसाईं : ​बजेटबारे बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सीमित स्रोत र साधनका बाबजुद हालसम्मको बजेट कार्यान्वयनको अवस्था प्रभावकारी रहेको दाबी गर्नुभयो। यद्यपि, आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसक्नु, सङ्घीय अनुदानमा बढी निर्भर हुनुपर्नु र निर्माण सामग्रीको मूल्यवृद्धि हुनु स्थानीय सरकारका लागि मुख्य चुनौती रहेको उहाँको भनाइ थियो।

​”चुनौतीका बाबजुद हामीले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका छौँ,” नगर प्रमुख प्रसाईंले भन्नुभयो।

​नगरसभाको उक्त बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्नो क्षेत्रको प्रगति विवरण, आगामी कार्ययोजना र भोग्नुपरेका चुनौती समेटिएका प्रतिवेदनहरू नगर प्रमुख प्रसाईंलाई बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार