देवेन्द्र किशोर ढुङ्गाना / जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका अध्यक्ष डा. फारूक अब्दुल्लामाथि एक विवाह समारोहमा गोली प्रहार गरिएको घटना हालै सार्वजनिक भएको छ। यो घटना केवल एक व्यक्तिमाथिको आक्रमण मात्र होइन, दक्षिण एशियाको संवेदनशील राजनीतिक परिवेशमा हिंसा र आतंकको छायाँ अझै समाप्त नभएको गम्भीर संकेत पनि हो। सौभाग्यवश, उक्त आक्रमणबाट डा. अब्दुल्ला बालबाल बचेका छन्, तर यस घटनाले सुरक्षा व्यवस्था, राजनीतिक सहिष्णुता र समाजमा बढ्दो घृणाको प्रवृत्तिबारे गम्भीर प्रश्न उठाएको छ।
समाचार अनुसार, घटना त्यतिबेला भयो जब डा. फारूक अब्दुल्ला विवाह समारोहबाट आफ्नो सुरक्षा टोलीसँग बाहिर निस्किरहेका थिए। सोही समयमा एक व्यक्ति अचानक नजिक आएर उनको पछाडिबाट रिभल्वर तेर्स्याउँदै गोली प्रहार गर्यो। गोली उनलाई छुँदै निस्किएको बताइएको छ। सुरक्षाकर्मीहरूको तीव्र सतर्कताका कारण हमलावरलाई घटनास्थलमै नियन्त्रणमा लिइयो। यस क्रममा जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरी सामान्य रूपमा घाइते भएका छन्।
पक्राउ परेका हमलावरको पहिचान ६१ वर्षीय कमल सिंह जामवालका रूपमा भएको छ। उनी जम्मूको पुरानो सहर क्षेत्रका बासिन्दा हुन् र आर्थिक रूपमा सम्पन्न व्यक्ति मानिन्छन्। उनका केही पसलहरू रहेको र त्यसबाट प्राप्त भाडाबाट जीवनयापन गर्ने गरेको बताइएको छ। साधारण देखिने र सेतो कपाल भएका कारण उनीप्रति सुरक्षाकर्मी वा उपस्थित व्यक्तिहरूले प्रारम्भमा कुनै शंका गरेका थिएनन्। तर प्रहरीले उनको साथबाट लाइसेन्स प्राप्त पिस्तौल बरामद गरेको छ, जसबाट उनले आक्रमण गरेका थिए।
प्रहरीको प्रारम्भिक सोधपुछमा कमल सिंह जामवालले चकित पार्ने खुलासा गरेका छन्। स्रोतका अनुसार उनले करिब बीस वर्षदेखि डा. फारूक अब्दुल्लाको हत्या गर्ने योजना बनाइरहेको बताएका छन्। उनी सही अवसरको प्रतीक्षामा थिए। संयोगवश, उनलाई आफ्ना आफन्तको विवाह समारोहमा निमन्त्रणा प्राप्त भयो, जहाँ डा. अब्दुल्ला पनि सहभागी हुने सूचना पाएपछि उनले यही अवसरलाई आफ्नो योजना कार्यान्वयन गर्ने उपयुक्त समय ठानेका थिए। विवाह समारोहको भीडभाड र हल्लाको बीचमा सजिलै आक्रमण गर्न सकिने ठानेर उनले पिस्तोल साथमा लगेका थिए।
यो घटनाले सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ। डा. फारूक अब्दुल्लालाई राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) तथा ‘जेड प्लस’ श्रेणीको सुरक्षा प्राप्त रहेको अवस्थामा पनि एक सशस्त्र व्यक्ति कसरी यति नजिक पुग्न सफल भयो भन्ने विषयमा व्यापक बहस सुरु भएको छ। जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले यसलाई गम्भीर सुरक्षा त्रुटि भन्दै यसको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार हमलावर अत्यन्तै छिटो गतिमा आएर नजिकबाट आक्रमण गर्न खोजेका थिए। सुरक्षाकर्मीहरूले तत्काल प्रतिक्रिया नदिएको भए परिणाम निकै भयावह हुन सक्थ्यो।
हाल प्रहरीले कमल सिंह जामवाल कुनै संगठित समूह वा चरमपन्थी संगठनसँग सम्बन्धित छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। यदि यो घटना व्यक्तिगत घृणा वा दीर्घकालीन मनोवैज्ञानिक द्वेषको परिणाम हो भने पनि यसले समाजमा बढ्दो असहिष्णुता र हिंसात्मक प्रवृत्तिको खतरा देखाउँछ।
यो घटनाले एउटा महत्वपूर्ण सन्देश दिन्छ—राजनीतिक मतभेद वा व्यक्तिगत असहमति हिंसाको माध्यमबाट समाधान हुन सक्दैन। लोकतान्त्रिक समाजमा विचार र असहमति संवाद, बहस र सहिष्णुतामार्फत समाधान गर्नुपर्छ। आतंकवाद र हिंसात्मक मानसिकताले केवल अस्थिरता, डर र सामाजिक विभाजनलाई मात्र बढावा दिन्छ।
दक्षिण एशिया जस्तो संवेदनशील क्षेत्रका लागि यस्तो घटना चेतावनीको संकेत हो। राजनीतिक नेतृत्व, सुरक्षा निकाय र नागरिक समाज सबैले मिलेर हिंसा र आतंकवादविरुद्ध एकजुट भएर उभिनु आवश्यक छ। समाजमा घृणा र कट्टरताको स्थानमा सहिष्णुता, संवाद र सहअस्तित्वको संस्कृति विकास गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
अन्ततः, डा. फारूक अब्दुल्लामाथिको आक्रमण असफल भए पनि यसले एउटा स्पष्ट सन्देश दिएको छ—आतंकवाद र हिंसाको सामना गर्न समाज, राज्य र नागरिक सबै एकताबद्ध हुनुपर्छ। जबसम्म मानवता, लोकतन्त्र र शान्तिको मूल्यलाई सामूहिक रूपमा संरक्षण गरिँदैन, तबसम्म यस्तो खतरा दोहोरिने सम्भावना रहिरहन्छ। त्यसैले आजको आवश्यकता स्पष्ट छ—हामी सबै मिलेर हिंसा र आतंकवादविरुद्ध दृढतापूर्वक उभिनु पर्ने छ।

















