काठमाडौं । नेपाल सरकारले राजदूतहरूको नियुक्ति खुला प्रतिस्पर्धामार्फत गर्ने तयारी सुरु गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग सोमबार भएको छलफलमा यस सम्बन्धी छिट्टै विज्ञापन जारी गरिने संकेत दिएका छन्।
मन्त्री खनालका अनुसार यस विषयमा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग सहमति लिइसकेका छन्। यदि यो प्रक्रिया अघि बढेमा बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति हुने सम्भावना देखिएको छ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सन् २०१८ मा राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतका लागि मापदण्ड निर्धारण गरेको थियो।
‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका’ अनुसार कुल रिक्त पदमध्ये कम्तीमा ५० प्रतिशत विदेश सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट हुने व्यवस्था छ। तर अहिलेसम्म खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने अभ्यास भएको थिएन। परराष्ट्र मन्त्रालयमा कार्यरत करियर कूटनीतिज्ञ तथा सत्तारूढ दलले सिफारिस गरेका व्यक्तिहरूलाई मात्र राजदूत बनाउने परम्परा रहँदै आएको छ।
मन्त्रालयका अधिकारीहरूले यसपटक पनि मन्त्री खनाललाई कम्तीमा ५० प्रतिशतभन्दा बढी राजदूत करियर कूटनीतिज्ञबाट नियुक्त गर्न सुझाव दिएका छन्।
खुला प्रतिस्पर्धाका लागि जारी हुने विज्ञापनमा इच्छुक उम्मेदवारहरूको उमेर, अनुभव तथा शैक्षिक योग्यतासम्बन्धी विवरण माग गरिने तयारी भइरहेको छ।


















