सिलगढी । पश्चिम बङ्गाल विधानसभा निर्वाचन २०२६ अन्तर्गत पहिलो चरणको मतदानको दृश्य अवलोकन गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल दार्जिलिङ आइपुगेको छ । बिहीबार १६ जिल्लाका १५२ सिटमा भइरहेको मतदान प्रक्रियाको निरीक्षणका लागि विभिन्न ७ राष्ट्रका प्रतिनिधिहरूले सिलगढी र माटिगढा क्षेत्रका मतदान केन्द्रहरूको भ्रमण गरेका हुन् ।

​निर्वाचन आयोगको ‘अन्तर्राष्ट्रिय निर्वाचन आगन्तुक कार्यक्रम २०२६’ अन्तर्गत नामिबिया, जर्जिया, नेपाल, फिलिपिन्स, स्विट्जरल्यान्ड, केन्या र अन्य अन्तर्राष्ट्रिय लोकतान्त्रिक संस्थाका १३ सदस्यीय प्रतिनिधिहरू बङ्गाल आइपुगेका हुन् । प्रतिनिधिमण्डलले मतदान केन्द्रमा गरिएको वेबकास्टिङ, अपाङ्गता भएका व्यक्तिका लागि व्हीलचेयर, पिउने पानी र ज्येष्ठ नागरिकका लागि मिलाइएको विशेष प्रबन्धको प्रशंसा गरेको छ । आयोगका अधिकारीहरूका अनुसार भारतको निर्वाचन प्रणालीको उत्कृष्टता प्रदर्शन गर्ने र विश्वभरका निर्वाचन निकायहरूसँग सहकार्य बढाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो ।

​यसैबीच, विधानसभाका विपक्षी नेता सुभेन्दु अधिकारीले आफ्नो गृहक्षेत्र नन्दीग्रामका विभिन्न मतदान केन्द्रहरूको भ्रमण गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले अघिल्लो निर्वाचनको तुलनामा यसपटकको मतदान प्रक्रिया धेरै शान्तिपूर्ण रहेको दाबी गरे । उनले विगतमा मतदानअघि नै मतदातालाई धम्काउने प्रवृत्ति रहेको आरोप लगाउँदै यसपटक कडा सुरक्षा व्यवस्थाका कारण त्यस्ता गतिविधि नियन्त्रणमा आएको बताए ।

​रोचक कुरा त के छ भने, सुभेन्दु अधिकारी यसपटक नन्दीग्रामका साथै भवानीपुर सिटबाट पनि चुनावी मैदानमा छन्, जहाँ उनको प्रतिस्पर्धा मुख्यमन्त्री ममता बनर्जीसँग हुँदैछ । नन्दीग्राममा आजै मतदान भइरहेको छ भने भवानीपुरमा आगामी अप्रिल २९ मा दोस्रो चरण अन्तर्गत मतदान हुनेछ । बिहीबार बिहानैदेखि भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेस (टीएमसी) का शीर्ष नेताहरूले मतदान गरी आ–आफ्नो क्षेत्रको चुनावी सरगर्मीको निरीक्षण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार