नेत्र बिक्रम बिमली / फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै नर्वेले पाँच पटकको च्याम्पियन
ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको यस रोमाञ्चक भिडन्तमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने। यो ऐतिहासिक जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ भने उपाधि दाबेदार मानिएको ब्राजिल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बिदा हुन पुगेको छ।
खेलको पहिलो हाफ दबाब र अवसरले भरिए पनि गोलरहित बराबरीमा सकिएको थियो। खेलको १४औँ मिनेटमा ब्राजिलले भिडियो असिस्टेन्ट रेफ्री (VAR) को सहयोगमा पेनाल्टीको सुनौलो अवसर पाएको थियो तर मिडफिल्डर ब्रुनो गिमारेसको प्रहारलाई नर्वेका गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि ब्राजिल सुरुवाती अग्रता लिनबाट चुक्यो। दोस्रो हाफमा ब्राजिलले आक्रमण तीव्र पार्दै ६८औँ मिनेटमा नेयमारलाई मैदान प्रवेश गराए पनि नर्वेको बलियो रक्षापंक्ति तोड्न ब्राजिलियन स्टारहरू असफल रहे।
ब्राजिलको लगातारको दबाबलाई रोक्दै नर्वेले काउन्टर एट्याकमार्फत खेल आफ्नो पक्षमा पार्यो। खेलको ७९औँ मिनेटमा ए. श्जेलडरुपको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले कसिलो प्रहारमार्फत नर्वेलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा पुनः श्जेलडरुपकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित निश्चित गरे। इन्जुरी समयको १०औँ मिनेटमा ब्राजिलले पेनाल्टी पाएपछि नेयमारले त्यसलाई गोलमा परिणत गरे पनि ब्राजिललाई खेलमा फर्काउन त्यो निकै ढिलो भइसकेको थियो।
यस जितसँगै नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित यात्रालाई पाँच खेलसम्म कायम राखेको छ, जसमा ३ जित र २ बराबरी समावेश छन्। अर्कोतर्फ, ब्राजिलका लागि युरोपेली टोलीहरूविरुद्धको नकआउट चरणको खराब इतिहास यस पटक पनि तोडिन सकेन र सन् २००२ यता ब्राजिल विश्वकपको नकआउट खेलमा युरोपेली टोलीसँग लगातार सातौँ पटक पराजित हुन पुग्यो।
यस खेलमा दुई गोल गरेसँगै एर्लिङ हालान्डको जारी विश्वकपमा कुल गोल संख्या ७ पुगेको छ र उनले गोल्डेन बुटको दौडमा समान ७-७ गोल गरेका लियोनेल मेसी र किलियन एम्बाप्पेको बराबरी गरेका छन्। ऐतिहासिक क्वार्टरफाइनल तय गरेको नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा मेक्सिको वा इङ्गल्यान्डमध्ये एक टोलीसँग सामना गर्नेछ।
