समाचार
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

सीमा सुरक्षा र हात्ती पीडितको समस्या बुझ्न गृहमन्त्री झापामा: “समस्या समाधानका लागि ठोस रूपमा काम गर्छौं”

काँकरभिट्टा (झापा) — सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्न गृहमन्त्री सुदन गुरुङ सोमबार झापाको स्थलगत भ्रमणमा आइपुग्नुभएको छ। भ्रमणका क्रममा उहाँले झापाको मेचीनगर–४ बाहुनडाँगीस्थित जंगली हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको छ। हात्तीको गतिविधि नियाल्दै गृहमन्त्री गुरुङले स्थानीयबासीलाई आश्वस्त पार्दै वर्षौंदेखिको यो पीडालाई सरकारले नजिकबाट हेरेकाले हात्ती आतंकको समस्या समाधानका लागि अब ठोस रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

​आइतबार राति नै झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ, जसका लागि स्थानीय प्रहरी प्रशासन विगत ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित रहेको छ। गृहमन्त्रीले भारतसँग सीमा जोडिएका संवेदनशील क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै काँकरभिट्टा हुँदै सीमावर्ती क्षेत्रको निरीक्षण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूले भोगिरहेका समस्या र सुझावहरू समेत संकलन गर्नुभएको छ।

विज्ञापन (Advertisement)Advertisement

​स्रोतका अनुसार गृहमन्त्री गुरुङले बाँहुण्डाँगी क्षेत्रमा वर्षौंदेखि देखिएको जंगली हात्तीको समस्या, झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अवैध सीमा गतिविधिबारे विशेष चासो व्यक्त गर्नुभएको छ। उहाँले यी गम्भीर विषयहरूमा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग गहन छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

​स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएका सीमा सुरक्षा, तस्करी नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्वका विषयमा गृहमन्त्री आफैं मैदानमा उत्रिएर चासो देखाएपछि उनीहरूमा नयाँ आशा पलाएको छ। गृहमन्त्रीको यो भ्रमणबाट सीमावर्ती क्षेत्रका चुनौतीहरूको वस्तुगत मूल्याङ्कन भई वर्षौंदेखिका समस्या समाधानका लागि ठोस एवं दीर्घकालीन पहल अघि बढ्नेमा झापाबासीले ठूलो विश्वास व्यक्त गरेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)