• देवेन्द्र के. ढुङगाना
    नेपालको समकालीन राजनीति आज एक महत्वपूर्ण दिशामा प्रवेश गरेको छ। दशकौँदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती र अवसरको अभावले समाजमा अनगिन्ती असन्तोष पैदा गरेको थियो। यही असन्तोषको पृष्ठभूमिमा युवाहरूको चेतना विस्तार हुँदै गएको हो । हालैका राजनीतिक घटनाक्रम, जनआन्दोलनजस्ता नागरिक पहलहरू र सम्पन्न निर्वाचनले देखाएको संकेत स्पष्ट छ—नेपाली राजनीतिमा युवाको भूमिका अब वैकल्पिक होइन, अपरिहार्य बन्दै गएको छ।

नेपालमा भ्रष्टाचारको समस्या संरचनागत रूपमा गहिरो जरा गाडेर बसेको छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलको सन् २०२५ को प्रतिवेदनले नेपालले ३४ अंक प्राप्त गरी १०७औँ स्थानमा परेको तथ्यले राज्य संरचनामा रहेको कमजोर सुशासनको अवस्थालाई उजागर गरेको छ। सार्वजनिक पदको दुरुपयोग, नातावाद, कृपावाद र निर्णय प्रक्रियामा पारदर्शिताको अभावले शासन प्रणालीलाई गम्भीर रूपमा प्रभावित गरेको छ। विकास निर्माणका कार्यदेखि सार्वजनिक खरिद प्रक्रियासम्म अनियमितताको जालो फैलिएको छ। ठेक्का प्रक्रियामा सीमित प्रतिस्पर्धा, कमसल निर्माण सामग्रीको प्रयोग, लागत अनुमानको कृत्रिम वृद्धि र हुँदै नभएको कामको भुक्तानीजस्ता उदाहरणहरूले राज्य संयन्त्रमा ब्यापक विकृति रहेको देखाउँछ।

यस प्रकारको भ्रष्टाचारले आर्थिक क्षति मात्र पुर्‍याएको छैन, यसले सामाजिक विश्वासलाई पनि कमजोर बनाएको छ। जब नागरिकहरूले सार्वजनिक संस्थाहरूमा भरोसा गर्न सक्दैनन्, तब लोकतन्त्रको आधारभूत संरचना नै कमजोर हुन थाल्दछ। नेपालको सन्दर्भमा पनि यही अवस्था देखिए । विकासका योजनाहरू समयमै सम्पन्न भएनन्, गुणस्तरहीन पूर्वाधारले दुर्घटनाको जोखिम बढाए , र जनताले पाउनुपर्ने सेवा महँगो तथा जटिल बन्दै गएका छन । यसरी हेर्दा भ्रष्टाचार आर्थिक अपराध मात्र नभई विकास अवरुद्ध गर्ने प्रमुख कारण बन्न पुग्यो ।

यही संरचनागत विकृतिको अर्को गम्भीर परिणाम भनेको युवा पलायन हो। आज हजारौँ नेपाली युवा रोजगारीको खोजीमा खाडी मुलुक, मलेसिया र अन्य देशतर्फ जान बाध्य छन्। गाउँहरू युवाविहीन हुँदै गएका छन्, रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको भए पनि दीर्घकालीन रूपमा यो स्थिति दिगो मान्न सकिँदैन। विदेशबाट आउने बाकसमा बन्द शवहरूले देशको सामाजिक पीडालाई अझ गहिरो बनाएका छन्। युवाको श्रम र ऊर्जा विदेशमा खर्च भइरहेको छ भने स्वदेशमा उत्पादनशील शक्ति कमजोर हुँदै गएको छ।

यस सन्दर्भमा युवाको भूमिका आर्थिक उत्पादनको सीमामा मात्र सीमित छैन। उनीहरू सामाजिक परिवर्तनका वाहक पनि हुन्। युवामा नयाँ सोच, ऊर्जा र मौलिकता हुन्छ। उनीहरू पारदर्शिता, उत्तरदायित्व र न्यायप्रति संवेदनशील हुन्छन्। त्यसैले भ्रष्टाचारविरुद्धको संघर्षमा युवाको सक्रियता अत्यन्त महत्वपूर्ण रहेक़ो छ। सुशासनको स्थापना केवल कानुनी व्यवस्था मात्रले सम्भव हुँदैन; त्यसका लागि समाजभित्रैबाट सचेत नागरिकहरुक़ो सहभागिता आवश्यक हुन्छ।

हालै देशमा देखिएको ‘जेन–जी’ आन्दोलनलाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ। भदौ २३ र २४ मा भएको उक्त आन्दोलनले युवाहरूको असन्तोषलाई संगठित रूपमा अभिव्यक्त गर्‍यो। भ्रष्टाचारविरुद्ध, पारदर्शी शासन र प्रणालीगत सुधारको माग गर्दै सडकमा उत्रिएको युवापुस्ताले नेपाली राजनीतिलाई गम्भीर प्रश्नहरू सोध्यो। त्यसपछि बनेको अन्तरिम राजनीतिक परिस्थिति र सम्पन्न प्रतिनिधिसभा निर्वाचनले पनि समाजभित्र परिवर्तनको चाहना बलियो रहेको देखायो।

निर्वाचन परिणामले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त समर्थनलाई केवल चुनावी विजयका रूपमा मात्र हेर्न मिल्दैन; यो परिवर्तनप्रतिको जनअपेक्षाको अभिव्यक्ति पनि हो। यदि नयाँ नेतृत्वले सुशासन, पारदर्शिता र नीतिगत सुधारलाई प्राथमिकतामा राख्न सके मात्र नेपालको राजनीतिक संस्कारमा नयाँ अध्याय सुरु हुन सक्छ। तर यदि पुरानै शैली दोहोरियो भने जनताको निराशा झन् गम्भिर बन्ने जोखिम पनि उत्तिकै जग जाहेर छ।

नेपाली राजनीतिमा सुधारका लागि केही आधारभूत पक्षहरू अत्यन्त महत्वपूर्ण देखिएका छन्। पहिलो, सार्वजनिक संस्थाहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु आवश्यक छ। प्रशासनिक निकायहरूमा योग्यताको आधारमा नियुक्ति र पदोन्नति हुनु आवश्यक छ । दोस्रो, सार्वजनिक खरिद र विकास परियोजनामा पारदर्शिता सुनिश्चित गर्न आधुनिक प्रविधिको प्रयोग गर्नु पर्ने हुन्छ । डिजिटल शासन प्रणालीले भ्रष्टाचार न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छ। तेस्रो, अनुगमन र मूल्यांकन प्रणालीलाई सशक्त बनाउनु आवश्यक छ, ताकि विकास परियोजनाहरूको गुणस्तर सुनिश्चित होस्।

त्यसैगरी युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु दीर्घकालीन विकासका लागि अनिवार्य छ। सीपमूलक शिक्षा प्रणालीको विस्तार, स्वरोजगार र उद्यमशीलताको प्रवर्द्धन तथा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा प्रचूर लगानीले रोजगारी सिर्जना गर्न सक्ने छ। यदि दक्ष युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाइयो भने विदेश पलायनको प्रवृत्ति क्रमशः घट्न जाने छ।

अन्ततः, नेपालको भविष्य युवाको हातमा सुरक्षित छ भन्ने कुरा आदर्श वाक्य होइन, यथार्थ सम्भावना पनि हो। तर यसको लागि राज्य, समाज र नागरिक समुदाय सबैले आफ्नो जिम्मेवारी निभाउनुपर्छ। सुशासन सरकारको नीतिले मात्र सम्भव हुँदैन; यसका लागि नागरिक चेतना, नैतिक नेतृत्व र संस्थागत सुधार आवश्यक हुने छ।

आज नेपाल परिवर्तनको सम्भावनाले भरिएको चौबाटोमा उभिएको छ। यदि युवाको ऊर्जा, सीप र चेतनालाई सही दिशामा प्रयोग गर्न सकियो भने मात्र नेपाललाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सकने छ। त्यसैले अबको सबैभन्दा ठूलो चुनौती भनेको यही हो—युवाको विश्वासलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्नु हो । यदि यो सम्भव भयो भने नेपाललाई विश्वमै उदाहरणीय राष्ट्र बनाउने सपना असम्भव रहनेछैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार