(एजेन्सी) । हैदराबादबाट चण्डीगढका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा मंगलबार प्राविधिक उपकरणका कारण आगलागी भएपछि यात्रुमाझ रुवाबासी र भागदौड मच्चिएको छ । विमानभित्र धुवाँ भरिएपछि चालक दलले सतर्कता अपनाउँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
​१९८ यात्रु, २ शिशु र ६ चालक दलका सदस्यसहितको उडान संख्या 6E-108 मंगलबार दिउँसो ३:२९ बजे चण्डीगढस्थित शहीद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो । अवतरणपछि विमान ट्याक्सी वेतर्फ गुडिरहेका बेला सिट नम्बर ३९सी (39C) मा रहेका एक यात्रुको ‘पावर बैंक’ अचानक पड्किएर आगो लागेको थियो ।
​विमानभित्र धुवाँ फैलिएपछि क्रू मेम्बरले तुरुन्तै ‘फायर एक्सटिंग्विशर’ प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए । सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो । ३:३५ बजे विमानको आपत्कालीन ढोका खोलेर यात्रुहरूलाई ‘स्लाइड’ (चिप्लेटी) मार्फत बाहिर निकालिएको थियो । उद्धारका क्रममा एक महिला यात्रुको खुट्टामा सामान्य चोट लागेको छ ।
​विमानस्थलमा रहेका भारतीय वायुसेनाको दमकल टोली तुरुन्तै घटनास्थल पुगे पनि चालक दलले स्थिति नियन्त्रणमा लिइसकेका थिए । विमानमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक डिभाइस) को प्रयोग र सुरक्षा संवेदनशीलतालाई लिएर यो घटनाले पुनः बहस सिर्जना गरेको छ । यसअघि पनि चेन्नई विमानस्थलमा एयर अरेबियाको विमानमा यस्तै प्रकृतिको घटना सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार