झिलझिले, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित इलाका प्रहरी कार्यालय झिलझिलेको नवनिर्मित संरचना र कन्ट्रोल रुमको आज एक समारोहका बीच समुद्घाटन गरिएको छ। झिलझिले बजार व्यवस्थापन समिति र स्थानीय बासिन्दाहरूको विशेष सहयोगमा कार्यालयको पुनर्निर्माण (रंग-रोगन) तथा नयाँ कन्ट्रोल रुम निर्माण कार्य सम्पन्न भएपछि आज यसको औपचारिक उद्घाटन गरिएको हो।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले नवनिर्मित संरचनाको समुद्घाटन गर्नुभयो। आज दिउँसो २:४० बजे प्रहरी कार्यालयको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार र स्थानीय नागरिक गरी करिब ५० देखि ६० जनाको उपस्थिति रहेको थियो।
सोही अवसरमा इलाका प्रहरी कार्यालयको भवन मर्मत र कन्ट्रोल रुम निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने सहयोगी दाताहरूलाई खादा, माला र प्रशंसा-पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो। स्थानीय समुदायको सक्रिय सहयोगमा सम्पन्न यस निर्माणले प्रहरी सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।


















