हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८९ लाख

नेपालकै होचो भूभागले परिचित दक्षिणी झापाको कचनकवल गाउँपालिकाले “व्यवसायीक कृषि र उद्यममा आधारित पर्यटकीय पूर्वाधार शिक्षा, स्वास्थ्य र यातायात सञ्जाल कचनकवलको समृद्धिका आधार” भन्ने नाराका साथ बजेट, नीति तथा कार्यक्रम पेस गरेको छ ।

Advertisement

गाउँपालिकाको छैटौँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रुपैयाँ बराबरको बजेट पेस गरेको छ । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले चालुतर्फ २८ करोड २३ लाख ४१ हजार ५ सय र पुजिगत तर्फ २५ करोड ६६ लाख १८ हजार ६ सय गरी उक्त बजेट पेस गरेका हुन् ।

Advertisement

बजेटमा सङ्घीय सरकारको तर्फबाट वित्तीय समानिकरण अनुदानबाट १२ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ७५ लाख, सशर्त अनुदानबाट २२ करोड ८० लाख, विशेष समपूरक कोषबाट १९ करोड ३० लाख र प्रदेश सरकारको तर्फबाट वित्तीय समानिकरण अनुदानबाट ७४ लाख २२ हजार, राजस्व बाँडफाँडबाट ४४ लाख ३६ हजार, सशर्त अनुदानबाट २ करोड ३४ लाख १० हजार, विशेष समपूरक कोषबाट एक करोड २० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ९० लाख रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौड्यालले जानकारी दिए । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा विकाससँगै स्वास्थ्य, कृषि, शिक्षा तथा खेलकुद, पर्यटन, रोजगारी, लक्षित तथा वर्ग समुदायलाई आधारित सामाजिक समावेशीकरण, संरक्षण तथा अवसरको सुनिश्चितताका माध्यमबाट समानता सहितको सामाजिक विकास र परिवर्तनको दिगो आधारको लक्ष्यका साथ नीति तथा कार्यक्रम बनाउन लागेको उनले बताए ।

स्वास्थ्यतर्फ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल अधिराज्य मध्ये यो गाउँपालिका सबै भन्दा सङ्क्रमित भएको छ । सो महामारी रोकथाम गरी आगामी आर्थिक वर्षमा कोभिडमुक्त बनाउने नीति अवलम्बन गरी यथेष्ट बजेट विनियोजन मार्फत कोभिडमुक्त गाउँपालिका बनाइनेछ । साथै किड्नीको समस्या भएका बिरामीहरूका लागि प्राथमिक स्वास्थ्य केन्द्र वनियानीमा नियमित डाइलोसिस सेवाका लागि आवश्यक यन्त्र तथा जनशक्तिको व्यवस्था र ज्येष्ठ नागरिकहरूका लागि सुगर, प्रेसर र मुटु रोगको औषधी निःशुल्क वितरण गर्ने व्यवस्था प्राथमिक स्वास्थ्य केन्द्र वनियानीबाट मिलाइने, बालबालिकाको बाँच्न पाउने अधिकार, गर्भिणी आमाको स्वास्थ्य रक्षा, नवजात शिशुको स्वास्थ्य रक्षा, पोषण सेवा र सुरक्षा, खोप सेवा लगायतका सबै प्रकारका स्वास्थ्य रक्षासग सम्बन्धित कार्यक्रमलाई एउटै डालोमा राखी “कचनकवल एकीकृत जीवन रक्षा” कार्यक्रम सञ्चालन गरी बालबालिकाको भु्रण रक्षा सहितको जीवन रक्षा र आमाहरूको मातृत्व रक्षाको सुनिश्चितता गरिने, निम्न आय भएका आदिवासी, जनजाति, दलित, पिछडा वर्ग, लोपोन्मुख, अल्पसङ्ख्यक जाती र अन्य समुदायको स्वास्थ्योपचार पहुँच वृद्धिको कार्य गरिने छ । यस क्रममा यस वर्षबाट यस गाउँपालिकामा रहेका ‘अल्पसङ्ख्यक गन्धर्व जातीको निःशुल्क स्वास्थ्य बिमा’कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रममा राखिएको छ ।

आर्थिक विकासमा आधारित भौतिक पूर्वाधारतर्फ जैविक विविधताको दृष्टिले अति महत्त्वपूर्ण जलथल जङ्गल र पर्यटकीय क्षेत्रको पूर्ण सम्भावना बोकेको नेपालको सबै भन्दा होचो भू-भागमा रहेको केचना स्तम्भ, केचना झिल, बडो केचना झिल, घेरावारिको झिल र सो क्षेत्र वरपर रहेको क्षेत्रलाई गुरुयोजना बमोजिम पूर्ण संरक्षण र विकास गरी सङ्घीय तथा प्रदेश सरकारको समेत सहयोगमा राष्ट्रिय स्तरको पर्यटक स्थलको रूपमा विकास गरिने, कृषि तथा औद्योगिक उत्पादनलाई निर्यातमुखी बनाउन “एक गाउँ एक उत्पादन” कार्यक्रमलाई प्राथमिकतामा राखी उक्त उत्पादनको बजारीकरणका लागि “एक वडा एक व्यापारिक केन्द्र” को स्थापना गरी आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ ।

शिक्षातर्फ सबै माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षा अनिवार्य गरिने छ । क्रमशः अन्य विद्यालयहरूमा समेत थप गरिँदै लगिने छ । गुरुकुल तथा मदरसा शिक्षालाई विद्यालय शिक्षासँग क्रमशः आबद्ध गर्दै लैजाने व्यवस्था मिलाइने छ । कक्षा १२ सम्मका सबै विद्यार्थीहरूलाई निःशुल्क अध्ययन अध्यापन गराउनेलाई निरन्तरता दिने, क्याम्पस तहमा अध्ययनरत गाउँपालिका वासीछात्राहरु जो यस गाउँपालिका भित्र स्थापित रहेको क्याम्पसहरूमा अध्ययनरत छन् ती सम्पूर्ण छात्राहरूलाई निःशुल्क पठन पाठनको व्यवस्था मिलाइने र वाल विकास शिक्षिकाहरूका लागि र विद्यालयमा कार्यरत कर्मचारीहरूका लागि वार्षिक पाँच हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यक्रममा राखिएको छ । सबै विद्यालयमा खेलकुद, सांस्कृतिक, व्यायाम (योग) शिक्षकको व्यवस्था गरिनेछ । सबै माध्यमिक विद्यालयहरूमा ‘विद्यार्थी कृषि सहकारी’ स्थापनाका लागि प्रोत्साहित गरिनेछ । सबै विद्यालयहरूमा वाल क्लब तथा आमा समूहहरूको गठन गर्ने व्यवस्था मिलाइने छ ।

त्यसैगरी कृषितर्फ कृषिका पकेट क्षेत्र वा सुपर जोन निर्माणका लागि वडा नं. १ लाई मकै क्षेत्र, वडा नं. २, ३ र ४ लाई धान क्षेत्र, वडा नं. ५ लाई तरकारी क्षेत्र लगायतको व्यवस्थापनका लागि अन्य वडालाई समेत समेटेर उक्त क्षेत्रलाई कृषिका पकेट क्षेत्र समेत घोषणा गरी गाउँ‘पालिकाको व्यावसायिक कृषि कार्यक्रमसँग आबद्ध भएका धान, मकै, गहुँ, दाल हन, तेलहन, सनपाट लगायत तथा व्यावसायिक पशुपालन (गाई, भैँसी, खसी, बाख्रा, सुगुर ब+गुर, कुखुरा लगायत) को विकास र बिस्तारकालागि सहुलियत दरमा उन्नत जातको बिउ विजन, मलखाद, आहार, उपचार विधि लगायतका आवश्यक सेवा उपलब्ध गराई सम्पूर्ण गाउँ‘पालिकावासीलाई कृषि बाली तथा पशु बाली व्यावसायिक उत्पादनमा आकर्षित गरी सबै पकेट क्षेत्रमा सोहीसँग सम्बन्धित उद्योग सञ्चालन गर्न चाहेमा त्यस्ता उद्यमीहरूलाई प्रोत्साहन र अनुदानको व्यवस्था गरिनेछ । यसका लागि प्रदेश र सङ्घीय सरकारको समेत सहयोग जुटाउने तर्फ विशेष ध्यान दिइनेछ ।

खेत बाँझो नराख्ने कार्यमा कृषकहरूलाई प्रोत्साहित गरिनेछ । यस क्रममा कृषक व्यक्ति तथा समूहलाई खेत बाँझो नराख्ने सर्तमा भूमिगत सिँचाइका लागि आवश्यक सहयोग प्रदान गरिनेछ । खाद्य भण्डार, शीत भण्डार, सङ्कलन तथा बिक्री केन्द्रको दिगो व्यवस्थापन गरी किसानहरूबाट उत्पादन गरिएका खाद्यान्न, तेलहन, दलहन लगायतका कृषि उपजहरूको उचित मूल्य प्राप्तिको सुनिश्चितता गर्नुको साथै बजार सञ्जाल निर्माण गरी उत्पादित वस्तुहरूको बिक्री वितरणको दिगो व्यवस्थापन गरिनेछ । त्यस्तै लक्षित तथा वर्ग समुदायतर्फ अति विपन्न परिवारको पहिचान गरी खाना, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी समेतको न्यूनतम आवश्यकताको परिपूर्तिको व्यवस्थापन गरी सामाजिक सुरक्षाको सुनिश्चितता गरिनेछ ।

साथै अति विपन्न परिवारको आधारभूत आवश्यकताको परिपुर्तिकालागि “अति विपन्न परिवार सामाजिक सुरक्षा कार्यविधि” निर्माण गरी उनीहरूको जीवन रक्षाको सुनिश्चितता गर्न कार्यक्रम सञ्चालन गरिनेछ । विपन्न लक्षित वर्गका निम्ति विनियोजन हुने रकमलाई समेत सीप विकाससँग एकीकृत गरी सबै वर्ग, समुदायका विशेष रूपले पछाडि परेका तथा पारिएका महिला तथा युवाहरूको सामाजिक, आर्थिक र राजनैतिक, सांस्कृतिक क्षमता र सीप विकासमा आधारित “कचनकवल लक्षित वर्ग तथा समुदाय क्षमता तथा सीप विकास कार्यक्रम” सञ्चालन गरिनेछ यसका लागि आवश्यक तालिम केन्द्र र स्वरोजगार बैङ्क समेत स्थापना गरी सोही तालिम केन्द्र मार्फत सिप विकासका सबै कार्यक्रम र स्वरोजगार बैङ्क मार्फत स्वरोजगारी सिर्जना गरिनेछ । पाइलट प्रोजेक्टको रूपमा वडा नं। १ र २ मा मजदुर लक्षित नवीकरणीय ऊर्जा विकास कार्यक्रम लागू गरिने कार्यक्रममा उल्लेख छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)