झापा । घरभित्र हुने ससाना मनमुटाव, आपसी झगडा र अशान्त वातावरणले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा गम्भीर असर पुर्याइरहेको हुन्छ। धेरै अभिभावकले यसलाई सामान्य पारिवारिक विषय मान्ने गरे पनि यसले बालबालिकाको स्नायु प्रणाली (नर्भस सिस्टम) लाई निरन्तर ‘खतराको मोड’ मा धकेलिदिने विज्ञहरूले औंल्याएका छन्। चेतना नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीका अनुसार बालबालिकामा देखिने अचानकका व्यवहारिक परिवर्तनहरू उनीहरूको बदमासी नभई घरको तनावपूर्ण वातावरणका कारण थाकेको र असुरक्षित बनेको स्नायु प्रणालीको प्राकृतिक प्रतिक्रिया हो।

प्रशिक्षक ओलीले भर्खरैको एक पारिवारिक घटना स्मरण गर्दै भन्नुभयो कि एकजना आमा आफ्नो छोरा सधैं कोठामै थुनिएर बस्ने, सानो कुरामा पनि रिसाउने, अत्यधिक चिन्तित रहने, स्कूल जान नमान्ने, र सामान्य आवाज आउँदा पनि तर्सने (Hypervigilant) समस्याबाट चिन्तित हुनुहुन्थ्यो। साथै, बालकले दिनभर जंक–फूड मात्रै खान रुचि देखाउँथ्यो। अभिभावकले यसलाई स्वभावगत समस्या वा बदमासी ठाने पनि वास्तवमा यो बा–आमाबीच भइरहने झगडा र घरको अशान्त वातावरणले बालकको स्नायु प्रणालीमा पारेको गम्भीर असर थियो। बालबालिकाले आफ्नो पीडा र डरलाई शब्दमा व्यक्त गर्न नसके पनि उनीहरूको शरीर र मस्तिष्कले हरेक मानसिक चोटलाई संग्रह गरेर राखिरहेको हुन्छ, जसको परिणामस्वरुप उनीहरू एक्लिन थाल्ने र सामाजिक जीवनबाट टाढा भाग्ने गर्दछन्।

मानव मस्तिष्क र स्नायु प्रणाली शरीरको कमान्ड सेन्टर हो, जसले हामी कसरी सोच्छौँ, महसुस गर्छौँ, डराउँछौँ वा शान्त हुन्छौँ भन्ने कुराको नियन्त्रण गर्छ। यो प्रणाली स्वस्थ रहँदा शरीर र मन दुवै सन्तुलित रहन्छन्, तर पारिवारिक कलह, धम्की, चर्को आवाज र अपमानपूर्ण वातावरणले यो प्रणालीलाई हरक्षण असुरक्षित मोडमा राखिदिन्छ। यसले बालबालिकाको आत्मविश्वास कमजोर बनाउने, पढाइ तथा सिकाइमा ह्रास ल्याउने र भोलिको परिपक्व उमेरमा गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
तर, स्नायु प्रणाली खलबलिए पनि मानव मस्तिष्कमा ‘न्यूरोप्लास्टिसिटी’ नामक अद्भुत क्षमता हुन्छ, जसले पुरानो आघातलाई बिर्सँदै नयाँ सकारात्मक बाटो बनाएर आफूलाई पुनः स्वस्थ बनाउन सक्छ। स्नायु प्रणालीलाई फेरि सुरक्षित मोडमा फर्काउन घरभित्र माया र सद्भावको शान्त वातावरण निर्माण गर्नुपर्छ। साथै पर्याप्त निद्रा, सन्तुलित खाना, हल्का व्यायाम, गहिरो श्वास-प्रश्वासको अभ्यास र ध्यान गर्नाले शरीरको ‘Parasympathetic System’ सक्रिय भई मस्तिष्क शान्त र स्थिर हुन थाल्छ।
बालबालिकामा देखिने असामान्य परिवर्तनलाई कडा शासन वा सजायले सुधार्न खोज्नु प्रत्युत्पादक हुने भएकाले बच्चाको व्यवहार बदलाइनु अघि घरको वातावरण नियाल्न र उनीहरूको मस्तिष्कको अवस्था बुझ्न चेतना नेपालले सम्पूर्ण अभिभावकहरूमा विशेष आग्रह गरेको छ। अध्यक्ष ओली भन्नुहुन्छ, “बच्चाको समस्या बच्चाकै दोष होइन, अक्सर त्यो त हामीले दिने वातावरणको ऐना मात्रै हो।” यस विषयमा थप परामर्शका लागि चेतना नेपालका अध्यक्ष इन्द्र प्रसाद ओलीलाई ९८०७९९२७६६ वा ९८४४४८४२७९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
