कसैले भन्यो—
“फेरि जंगल नफर्कियोस् भनेर
भोटको भेल बगाऔँ।”

त्यो दिन
मतपेटिका नदी जस्तै भरिए,
रङ्गीन कागजहरू
आशाको पात बनेर बगे।
जनताको सास
लोकतन्त्रको गीत गाइरहेको थियो।
हिजो
रातका अँध्यारामा
बन्दुकको आवाज सुन्नेहरू
आज मतदान केन्द्रको लाइनमा उभिएका थिए।

कसैले कसैलाई भनेन—
तर सबैले बुझिरहेका थिए
यो भोट
केवल सरकार बनाउने कागज होइन,
यो त
डरबाट मुक्त हुने
सपना हो।
तर समय फेरियो
आज
देशको आकाश
फेरि धुवाँले ढाकिएको छ,
आगोको गन्ध
राजनीतिक भाषणमा मिसिएको छ।
सडकहरू
अझै पनि जनताको पाइला खोजिरहेका छन्,
तर कुर्सीका कोठाहरूमा
फेरि पुरानै खेल चलिरहेको छ।
आज
देश जलाएर आएका हातहरूलाई
फेरि आगो नसल्कियोस् भनेर
भोटको सुनामी
बगेको देखियो।
मतपत्रहरू
समुद्रका छाल जस्तै उठे,
जनताको आवाज
आँधी जस्तै गुञ्जियो।
कसैले सोध्यो—
“किन यति धेरै आशा?”
उत्तर सरल थियो—
किनकि
जनता अझै
हार मानेका छैनन्।
हिजो
जंगलबाट फर्केका सपनालाई
शहरमा बसाल्न खोजियो,
आज
आगोबाट बचेको देशलाई
पानीले जोगाउन खोजिएको छ।
मतपेटिकामा खस्ने
हरेक कागज
किसानको पसिना हो,
विदेशिएको युवाको
आँसु हो,
आमाको मौन प्रार्थना हो।
यो भोट
कसैको महल
बनाउन होइन,
देशको भत्किएको
घर जोड्न हो।
यो भोट
कसैको नाम लेख्न होइन,
इतिहासको घाउमा
मलम लगाउन हो।

तर इतिहासले
सिकाएको छ—
जनताको विश्वास
सबैभन्दा ठूलो शक्ति हो,
तर
सबैभन्दा ठूलो
परीक्षा पनिहो ।
यदि विश्वास तोडियो भने
भोटको नदी
बाढी पनि बन्न सक्छ।
आज
जनताको आँखामा
फेरि एउटा सपना चम्किरहेको छ—
कि कहिल्यै जंगल नफर्किने राजनीति होस्,
कहिल्यै देश
नजलाउने सत्ता होस्।
कि मतपत्रको आवाज
बन्दुकभन्दा
बलियो बनोस्,
कि जनताको आशा
कुर्सीभन्दा ठूलो बनोस्।
किनकि देश
नेताहरूको होइन,
जनताको सपना हो।
र जब सपना बोल्छ—
भोट नदी बन्दैन,
समुद्र बन्छ।
त्यो समुद्र एकदिन
इतिहासको किनारासम्म पुगेर भन्छ—
अब
न जंगलको डर,
न आगोको राजनीति।
अब मान्छे मात्र
बाँकी रहोस्,
र देश
साँच्चै देश बनोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार