भद्रपुर । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो दिन मंगलबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र पदमा स्पोर्ट्स क्लब (इलाम) बीच प्रतिस्पर्धा हुँदैछ ।

​नेपाली महिला फुटबलकै सर्वाधिक पुरस्कार राशि मानिएको यस प्रतियोगितामा आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । उपाधि दाबेदार मानिएको एपिएफ स्टार खेलाडीहरूले भरिएको टोली हो । मैदानमा एपिएफले राष्ट्रिय टोलीका खम्बा मानिने अनिता केसी, रश्मिकुमारी घिसिङ, गीता राना, रेनुका नगरकोटी र अनिता बस्नेतजस्ता अनुभवी खेलाडीहरूलाई उतार्नेछ । टोलीको पोष्ट सम्हाल्न राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर अञ्जना राना हुनेछिन् ।

​यता, पूर्वी पहाडबाट उदाउँदै गरेको पदमा स्पोर्ट्स क्लबले भने एपिएफको बलियो आक्रमण रोक्ने रणनीति बनाउनेछ । स्मिता सुन्दासजस्ता भरपर्दा खेलाडीको साथ पाएको पदमाका लागि एपिएफ पुरानो प्रतिद्वन्द्वी हो । गत वर्ष नुवाकोटमा भएको बागमती प्रदेश मुख्यमन्त्री कपमा पदमा एपिएफसँग ४–० ले पराजित भएको थियो । यद्यपि, फागुनमा चितवनमा भएको रत्न प्रिय कपको उपविजेता बनेको पदमाले पछिल्लो समय मोफसलका प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।

​आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो राशि महिला फुटबलको इतिहासमा नेपालकै ठूलो हो । सचिवालय प्रमुख हिमाल खरेलले प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले ११ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने जानकारी दिए ।

​त्यसैगरी, विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । बैशाख ५ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी १४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार