भद्रपुर, वैशाख ८ । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

​मंगलबार भएको खेलमा ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० को भारी गोल अन्तरले हराउँदै एपिएफले अन्तिम आठमा स्थान पक्का गरेको हो। पहिलो हाफमा १–० को झिनो अग्रता लिएको एपिएफले दोस्रो हाफमा गोलको वर्षा नै गर्‍यो। एपिएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ४ गोल गरिन्।

​खेलको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिले खाता खोलेकी थिइन्। दोस्रो हाफको ४१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी रश्मिले ५२ औँ मिनेटमा ह्याट्रिक पूरा गरिन्। उनले ५६ औँ मिनेटमा व्यक्तिगत चौथो गोल थपेकी थिइन्। यस्तै, ४२ औँ मिनेटमा रेनुका नगरकोटी र ५४ औँ मिनेटमा अनिता केसीले १–१ गोल गरे।

​विपक्षी पदमा स्पोर्टस्ले केही राम्रा अवसर सिर्जना गरे पनि गोल फर्काउन सकेन। ४ गोल गरेकी रश्मिकुमारी घिसिङ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्। अब एपिएफले क्वार्टरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। बुधबार नेपाल पुलिस क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार