नेत्र बिक्रम बिमली / हल्दीबारी, झापा । झापाको हल्दीबारीमा आज एक विशेष समारोहका बीच ‘जलथलका रुखहरू’ नामक पुस्तकको औपचारिक विमोचन गरिएको छ। फरेस्ट एक्सन नेपालले करिब चार वर्ष लगाएर गरेको गहन अध्ययन र अनुसन्धानपश्चात् तयार पारिएको यो पुस्तक २२० पृष्ठको रहेको छ। यस पुस्तकमा जलथल जङ्गलभित्र पाइने १६८ प्रजातिका रैथाने रुखहरूको विस्तृत विवरण समेटिएको छ। पुस्तक विमोचन गर्दै फरेस्ट एक्सन नेपालका कार्यक्रम निर्देशक डाक्टर लीलानाथ शर्माले रुखका प्रजाति पहिचानका लागि रङ्गीन तस्बिरहरू, रुखको पारिस्थितिकीय परिचय र वनको संरक्षण अवस्थाबारे महत्वपूर्ण जानकारीहरू पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो। डाक्टर लिलानाथ शर्मा, भास्कर अधिकारी, योगेन्द्र बहादुर पौडेल र मार्क एफ. वाट्सनको संयुक्त अध्ययनपछि तयार पारिएको यो कृति जङ्गलको जैविक विविधता बुझ्नका लागि निकै उपयोगी हुने विश्वास लिइएको छ।

हल्दीबारी गाउँपालिका-४ स्थित पाथिभरा कालिका सामुदायिक वनको सभाहलमा आयोजित उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेद प्रकाश भण्डारी, सहायक वन अधिकृत डिल्लीराम खरेल र वडाध्यक्ष सन्त कुमार थापा लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो। पुस्तक विमोचन पश्चात् बोल्दै गाउँपालिका अध्यक्ष लिङ्गदेनले यो पुस्तक ज्ञानको भण्डार भएको र यसले वन समूहमा ठूला रुख मात्र देख्ने पुरानो परिपाटीको अन्त्य गर्ने बताउनुभयो। उहाँले जैविक विविधताले भरिएको जलथल जङ्गलको संरक्षणमा चनाखो हुन आग्रह गर्दै स्थानीय सरकार दीर्घकालीन संरक्षणका लागि समूहहरूसँग सहकार्य गर्न सधैं तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला वन सहायक अधिकृत डिल्लीराम खनाल, वडाध्यक्ष सन्त कुमार थापा र महासङ्घका अध्यक्ष बेद प्रकाश भण्डारी लगायतले जलथल जङ्गलको वातावरणीय महत्व र पुस्तकको सान्दर्भिकताका बारेमा आफ्ना धारणाहरू राख्नुभएको थियो।

हल्दीबारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकासँग जोडिएको करिब ६,३०० हेक्टरमा फैलिएको यो जङ्गलको संरक्षण र उपयोग हाल २२ वटा सामुदायिक वन समूहले गर्दै आएका छन्। ती सबै २२ वटै वन समूहका प्रतिनिधि, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घकी कोषाध्यक्ष एवं सञ्चारकर्मी देविका अधिकारीले सहजीकरण गर्नुभएको थियो भने उपाध्यक्ष चन्द्र तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। पुस्तक विमोचन लगत्तै वन समूहहरूबीच जङ्गलको सुरक्षा र दिगो व्यवस्थापनका विषयमा अन्तर्क्रिया समेत गरिएको थियो।


















