बिर्तामोड, १६ असार– पूर्वी नेपालकै चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ को तेस्रो संस्करणअन्तर्गत ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ को फिजिकल अडिसन बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ।
पहिलो चरणको डिजिटल अडिसन पार गरेका सात उत्कृष्ट ब्यान्डले सोमबार साँझ बिर्तामोडस्थित मोक्ष रेस्टुरेन्टमा आफ्नो दमदार सांगीतिक प्रस्तुति दिएका हुन्। डिजिटल अडिसनमा सहभागी कुल १२ ब्यान्डमध्येबाट झापाका बेस क्लिप, रागभर्स, स्ट्रबेरी, जेनम, कालचक्र, यात्री ब्यान्ड र इलामको आवाज ब्यान्ड फिजिकल अडिसनका लागि छानिएका थिए।
कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाका अनुसार सोमबारको प्रस्तुतिबाट उत्कृष्ट पाँच ब्यान्ड मात्र फाइनल चरणमा प्रवेश गर्नेछन्। उक्त अडिसनको निर्णायक भूमिकामा जोनी योञ्जन, सुवास श्रेष्ठ, अर्पण सापकोटा र अर्जुन दाहाल रहेका थिए भने फिजिकल अडिसनको अन्तिम नतिजा बुधबार सार्वजनिक गरिने आयोजकले जनाएको छ।
असार २६ मा फाइनल, विजेतालाई ५० हजारसहित म्युजिक भिडियोको अवसर
प्रतियोगिताको फाइनल खेल आगामी असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने तय भएको छ। प्रतियोगिताकी निर्देशक सुनिता तामाङका अनुसार फाइनलमा पुग्ने ब्यान्डहरूका लागि त्यसअघि विशेष क्लोज क्याम्प अर्थात् बन्द प्रशिक्षण समेत सञ्चालन गरिनेछ।
अमृत स्टोर, बिर्तामोडको प्रस्तुति तथा एनएसएस इभेन्टको व्यवस्थापनमा भइरहेको यस संस्करणमा पहिलोपटक कोशी प्रदेशभरिका ब्यान्डहरूलाई समेटिएको छ। झापा रकस्टारका प्रमुख अमृत पौडेलले संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभाहरूलाई व्यवस्थित मञ्च प्रदान गर्दै उनीहरूको कला र सिर्जनशीलता प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
यस प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगद, गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने ब्यान्डले २० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट पुरस्कारस्वरूप पाउने आयोजकले जनाएको छ।
यसअघि २०८१ सालमा पहिलो संस्करणका रूपमा ‘खुला ब्यान्ड ब्याटल’ र दोस्रो संस्करणका रूपमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस वर्ष भने आयोजकले दायरा फराकिलो बनाउँदै प्रदेश स्तरीय प्रतियोगिताको रूपमा यसलाई निरन्तरता दिएका हुन्।








