झापा । दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीबाट बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ।
स्थानीयले आइतबार साँझ करिब ५ बजे हातहतियार देखिएको सूचना दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो। टोलीले स्थलमै पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न किसिमका हातहतियार तथा गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटपाट गरी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ।
बरामद सामग्रीमा म्यागजिनसहित दुई थान इन्सास राइफल, म्यागजिनबिनाको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासका २० थान जङ्गी राउण्ड तथा गोली राख्ने तीन थान बिन्दुली रहेका छन्।
बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।


















