नरेन्द्र क्षेत्री। नयाँ दिल्ली– दक्षिण दिल्लीको मालवीय नगरस्थित एक होटलमा आज बिहान भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । हौज रानी क्षेत्रमा रहेको ‘फ्लोरिश स्टे बेड एन्ड ब्रेकफास्ट’ गेस्ट हाउसमा अचानक आगो सल्किएको दिल्ली अग्नि शमन सेवा (डीएफएस) ले जनाएको छ ।

​बिहान करिब पौने ९ बजे आगलागी भएको सूचना पाउनासाथ स्थानीय प्रहरी र दमकलका आठवटा गाडीहरू उद्धारका लागि घटनास्थल पुगेका थिए । सुरक्षाकर्मी, दमकल र आपतकालीन उद्धार टोलीको संयुक्त प्रयासमा ४० भन्दा बढी व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

उद्धार टोलीका अनुसार यस दर्दनाक दुर्घटनामा ज्यान गुमाउने २१ जनामध्ये अधिकांश विदेशी नागरिक छन् । मृतकहरूमा धेरैजसो पश्चिम एसियाली र अफ्रिकी देशका बासिन्दा रहेको दिल्ली प्रहरीले पुष्टि गरेको छ ।

​यस हृदयविदारक घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गर्नुभएको छ ।

​यसैगरी, दिल्लीका उपराज्यपाल तरनजीत सिंह संधू र मुख्यमन्त्री रेखा गुप्ताले पनि आगलागीको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुप्ताले दिल्ली सरकार प्रभावित परिवारको साथमा दृढतापूर्वक उभिएको र घाइतेहरूको उपचारका लागि कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार