झापा, २० जेठ। झापाको मेचीनगर नगरपालिका-७ स्थित संजय सिमेन्ट फ्याक्ट्री अगाडि आज बेलुका भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बेलुका १७:२० बजेको समयमा गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल ईङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। घाइते हुनेहरूमा भारतको किशनगन्ज गलगलिया बस्ने ३२ वर्षीय अजय माझी र झापा मेचीनगर-७ का २१ वर्षीय अजय राजबंशी रहेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बेलुका १७:५० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। मृतकहरूको शव हाल सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न बसका चालक मेचीनगर-११ बस्ने ४५ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

















