हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाडौँ ,सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।” यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताउनुभयो ।

Advertisement

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो । हाल नेपालमा कोभिडका पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् । सरकारले कोभिडको संक्रमण फैलन नदिन वैशाख ११ गतेदेखि दुई साताका लागि देशभर लकडाउन गरेको छ । वैशाखको पहिलो सातासम्म मुलुकमा हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोभिडको विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । त्यस्तै सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)