हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाल सुपर लिगका लागि झापा एफसीको तयारी तीव्र

बिर्तामोड ,१७ फाल्गुन – नेपाल सुपर लिग (एनएसएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एकमात्र टिम भएको झापा एफसीका अध्यक्ष अर्पण खड्काले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण झापाबासीलाई आफ्नो क्लबको अपनत्व ग्रहण गर्न आह्वान गरे। खड्काले पूर्वेलीहरूसँग सहकार्यको अपेक्षा राख्दै यसपटकको एनएसएल च्याम्पियन बन्ने तयारी जोरदार रूपमा सुरु भएको जानकारी दिएका छन्।

Advertisement

अध्यक्ष खड्काका अनुसार, सफल प्रशिक्षक तथा सक्षम र लयमा रहेका खेलाडीहरूको बलबुदबाट क्लबले लिग जित्ने ठोस दाबी गरेका छन्। यसैक्रममा, तेस्रो संस्करणको एनएसएलमा क्लबको एम्बसेडरको रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई पुनः नियुक्त गरिएको छ।

Advertisement

क्लबले आफ्नो टोलीको तयारीलाई अझ बलियो बनाउनका लागि विभिन्न महत्वपूर्ण कदमहरू चालेको छ। झापा मेचीनगरका मीनबहादुर बस्नेतलाई गोलकिपर प्रशिक्षक र झापा दमकका कुमार गिरीलाई सहायक प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको छ। साथै, अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीसँग सफल अनुभव सँगै बिर्तामोडका प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको रुपमा पहिल्यै अनुबन्ध गरिसकेको छ।

सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो। क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ र सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। सहिद स्मारक ए डिभिजन लिगमा खेल्ने उद्देश्यसहित स्थापना भएको क्लबले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स पनि खेलेको थियो।

अध्यक्ष खड्काले भविष्यका योजनाबारे भने, महिला फुटबल टिम, उमेर समूहका टिम, फुटबल एकेडेमी र आफ्नै रंगशाला निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्। यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको जानकारी पनि दिएका खड्काले, ए डिभिजनको विकेन्द्रीकरण, क्बलहरुको एकेडेमी स्थापना र होम एन्ड अवे खेलको अवधारणामा जोड दिएका छन्।

त्यसै क्रममा, मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई टिममा भित्र्याइएको छ। साथै, उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेत पनि झापा एफसीबाट खेल्ने भएको छ। अतिरिक्त रूपमा, छिरिङ गुरुङलाई रिटेन गरेको, र आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट टिममा समावेश गरिएको छ।

समग्रमा, झापा एफसीले आगामी प्रतियोगितामा सफलता प्राप्त गर्ने ठोस तयारी र दीर्घकालीन योजनाहरू अघि बढाएको देखिन्छ। अध्यक्ष अर्पण खड्काको नेतृत्वमा क्लबले स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ प्रस्ट पार्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)