​काठमाडौं : राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश फोटोपत्रकार संघको औपचारिक निमन्त्रणामा प्रस्थान गरेको यस टोलीमा केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका फोटोपत्रकारहरू समावेश छन् । विगत २१ वर्षदेखि नेपाल र बंगलादेशका फोटोपत्रकारहरूबीच कायम रहँदै आएको व्यावसायिक भाइचारा र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो ।
​यस भ्रमणका क्रममा टोलीले बंगलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा एक विशेष फोटो प्रदर्शनीको आयोजना गर्नेछ, जहाँ नेपालको प्राकृतिक सौन्दर्य, पर्यटकीय गन्तव्य र मौलिक संस्कृति झल्काउने ४० वटा छानिएका तस्बिरहरू प्रदर्शन गरिनेछन् । यस प्रदर्शनीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । प्रदर्शनीका साथै नेपाली टोलीले बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोपत्रकारिता सेमिनारमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ, जसमा अध्यक्ष वन्तले नेपाल र समग्र एसियाली क्षेत्रमा फोटोपत्रकारिताको वर्तमान अवस्था र यस क्षेत्रले भोगिरहेका चुनौतीहरूका बारेमा आफ्नो प्रस्तुति दिनेछन् ।
​भ्रमणकै सिलसिलामा नेपाली टोलीले ‘आईएचआई फोटोजर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा भाग लिनुका साथै बंगलादेशका प्रमुख पर्यटकीय स्थलहरू कक्स बजार, चिट्टगाउँ र राजधानी ढाकाको अवलोकन भ्रमण समेत गर्ने तय भएको छ । यस किसिमको अन्तरदेशीय आदान–प्रदानले दुई देशका फोटोपत्रकारहरूबीचको पेशागत सीप साटासाट हुनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार