काठमाडौँ — बिहानको पहिलो किरण बागमती किनारमा पर्दा पशुपति क्षेत्रको वातावरण सधैँझैँ शान्त र आध्यात्मिक देखिन्थ्यो। मन्दिरको घण्टी, धूपको सुगन्ध र भक्तजनको मौन श्रद्धाबीच कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको मनमा भने एउटा गहिरो चिन्तन चलिरहेको थियो— ‘के हामीले यो पवित्र धरोहरलाई जति शुद्ध रूपमा जोगाउनुपर्ने हो, त्यति सकेका छौँ?’
पीठाधीश हुमागाईंका अनुसार पशुपतिनाथ केवल एउटा मन्दिर मात्र नभएर राष्ट्रको आत्मा र सनातन सभ्यताको धरोहर हो। तर, पछिल्लो समय यस पवित्र भूमिभित्रको व्यवस्थापन, सेवा र पारदर्शिताबारे उठिरहेका प्रश्नहरूले उनलाई चिन्तित तुल्याएको छ।
पशुपति क्षेत्रलाई पूजा गर्ने ठाउँ मात्र नभई देशलाई नैतिकता, अनुशासन र सदाचारको बाटो देखाउने साधना केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। त्यही विश्वासका साथ उनले एउटा संकल्प अघि सारेका छन्— अवसर पाएमा यस पवित्र संस्थालाई पूर्ण रूपमा सुशासन, पारदर्शिता र आध्यात्मिक अनुशासनमा आधारित बनाउने।
“यहाँ आउने प्रत्येक भक्त केवल दर्शक होइनन्, साधक हुन्। र प्रत्येक सेवा केवल काम होइन, पूजा हो,” उनी भन्छन्।
उनको सोचअनुसार पशुपति क्षेत्रभित्रका सबै मन्दिरमा नित्य पूजा निरन्तर चलिरहनुपर्छ, शिवलिङ्गमा चढाइने जल र बेलपत्र शुद्ध हुनुपर्छ र बागमतीको पानीलाई फेरि गङ्गाजस्तै पवित्र बनाउने वातावरण निर्माण गरिनुपर्छ।
त्यसैगरी, उनले भक्तजनको दर्शन प्रक्रियालाई भेदभावरहित, शान्त र मर्यादित बनाउनुपर्ने कुरामा जोड दिएका छन्। उनका लागि मन्दिरको लाइन केवल भीड होइन, त्यो त श्रद्धाको अनुशासन हो।
यो संकल्प केवल पूजा–व्यवस्थापनमा मात्र सीमित छैन। पशुपति क्षेत्रको भेटी र शिवस्व (सम्पत्ति) कुनै व्यक्तिगत साधन नभएको उल्लेख गर्दै उनी भन्छन्, “यो त शिवको प्रसाद हो, जसलाई केवल सेवा, परोपकार र समाज कल्याणका कार्यमा मात्र प्रयोग गरिनुपर्छ।”

धार्मिक यात्राका क्रममा विभिन्न साधु–सन्त र तीर्थयात्रीसँग भेट गर्दा सबैले पशुपति क्षेत्रलाई अझ शुद्ध र व्यवस्थित बनाउनुपर्ने चाहना राखेको उनले सुनाए। त्यही जनभावनालाई आधार बनाएर उनले पशुपति क्षेत्रलाई विश्व हिन्दू आस्थाको आधुनिक केन्द्र बनाउने सपना देखेका छन्, जहाँ विश्वभरका भक्तजनले अनलाइन वा प्रत्यक्ष रूपमा आस्थाको सुखद अनुभूति गर्न सकून् र नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा चिनाउन सकियोस्।
साँझ ढल्दै जाँदा पशुपति परिसरमा दीपहरूको उज्यालोसँगै आरतीको ध्वनि गुञ्जिरहँदा हुमागाईंको मनमा एउटै विचार थियो— “यदि यो सेवाको अवसर मिल्यो भने, त्यो केवल पद हुनेछैन, त्यो त विशुद्ध शिवसेवा हुनेछ।”
अन्त्यमा उनी भन्छन्, “यदि सक्षम, निष्ठावान र समर्पित व्यक्ति कोषमा आएनन् भने, म यो सेवा शिवकै चरणमा समर्पित गर्न पूर्ण रूपमा तयार छु।”

















