हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

‘पार्टीमा फुट आउन नदिन त्याग गर्न पनि तयार छौँ’

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

Advertisement

अध्यक्ष त्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरू त्याग गर्न पनि तयार रहेको बताउनुभयो । आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

Advertisement

अध्यक्ष थापाले भन्नुभयो, ‘यथासम्भव सर्वसम्मतिको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नुपर्दछ । सहमतिबाट हामीले नेतृत्व छनोट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आउँदा दिनमा एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिज्ञा तपाईँरहामी सबैले गर्नुपर्दछ ।’

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताउनुभयो । उहाँले अध्यक्षमा आफू विजय हुने भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताउनुभयो ।

अध्यक्ष राणाले भन्नुभयो, ‘मैले अहिलेको अवस्थामा पार्टीको वृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोड्नुपर्छ भन्ने टुङ्गोमा पुगेँ । त्यो टुङ्गोमा पुग्दा धेरै साथीले अत्यन्त चित्त दुखाए । तर मैले आफू विजयी हुने भन्दा पनि पार्टीलाई एकताबद्ध राखेर अघि बढ्नुपर्ने अवस्थालाई प्राथमिकता दिएर अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।’

पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा। लोहनीले बताउनुभयो । डा। लोहनीले अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसक्नुभएको छ । पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने भन्दै लोहनीले पार्टी फुट्ला कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरूले पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । त्यही काममा हामी लाग्नेछौँ । नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले देशलाई निकास दिन सक्नेछ ।’

अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबीसमेत गर्नुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)