झापा । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको कमल गाउँपालिकास्थित मंगलबारे बजारको पूर्वाधार सुधार तथा स्तरोन्नतिका लागि संघीय सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। लामो समयदेखि अव्यवस्थित अवस्थामा रहेको स्थानीय हाटबजारलाई आधुनिक र प्रविधियुक्त बनाउन उक्त रकम बजेटमा समेटिएको हो।

संघीय सरकारको सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटबाट बजार क्षेत्रमा आधुनिक तरकारी तथा कृषि उपज बिक्री केन्द्र (सेड)लगायतका काम अघि बढाइने कमल गाउँपालिकाले जनाएको छ।

व्यावसायिक दृष्टिले उदाउँदो मंगलबारे बजारमा आवश्यक पूर्वाधार नहुँदा स्थानीय किसान र व्यापारीहरूले लामो समयदेखि सास्ती खेप्दै आएका थिए। बजेट विनियोजनसँगै हाटबजार व्यवस्थित हुने र स्थानीय तहमा उत्पादित कृषि उपजको बजारीकरणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार मंगलबारे बजारको विकासले गाउँपालिकाभित्रका किसानलाई सीधै उपभोक्तासँग जोड्न मद्दत पुग्नेछ। “स्थानीय किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषिजन्य वस्तुको बजारीकरण नै हाम्रो मुख्य प्राथमिकता हो,” राईले भने, “संघीय सरकारबाट प्राप्त बजेटको सही र पारदर्शी उपयोग गर्दै बजारलाई छिट्टै आधुनिक र व्यवस्थित बनाउनेछौँ।”
पूर्वाधार निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी यथाशीघ्र ठेक्का प्रक्रिया अघि बढाउने तयारी गाउँपालिकाको छ। हाटबजार व्यवस्थित बनेपछि कमल गाउँपालिकाका साथै आसपासका शिवसताक्षी, गौरादह र दमक क्षेत्रका किसान तथा उपभोक्तासमेत प्रत्यक्ष लाभान्वित हुनेछन्।
