भद्रपुर, झापा — झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ स्थित मेची पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल यात्रीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भद्रपुर–४ निवासी २३ वर्षीय राजेन राजवंशी रहेका छन्। बिहीबार साँझ करिब ५:२० बजेको समयमा नेपाल प्रवेश गर्दै गरेका राजवंशीले साइकलको फ्रेमको प्वालभित्र लुकाइछिपाई ल्याएको प्याकेटबाट प्याकेजिङ बाहेक २१ ग्राम ९ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिहीबार साँझ भद्रपुर–४ स्थित डाँगीवारी क्षेत्रबाट भारतबाट नेपाल पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–९ निवासी २३ वर्षीय पारस गौरपिप्ली र सोही स्थानका २४ वर्षीय राजु राजवंशीलाई समेत पक्राउ गरेको छ। उनीहरूको साथबाट प्याकेजिङ बाहेक २ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जनाइएको छ।


















