भद्रपुर। बन्धुहरूबीच एकता र सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ काफ्ले समाज भद्रपुर नगर समितिको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न सभाले कृष्ण काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लीला कार्की काफ्ले र बिक्रम काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिवमा जगदिश काफ्ले र कोषाध्यक्षमा सरोज काफ्ले निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद काफ्ले, अर्जुन काफ्ले, मञ्जु काफ्ले, तिलमाया काफ्ले र राजेन्द्र काफ्ले रहेका छन् । नवनिर्वाचित टोलीलाई केन्द्रीय उपाध्यक्ष दुर्गादेवी खनाल काफ्लेले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
गत भदौ १४ गते इटहरीमा काफ्ले बन्धु सम्बद्ध तीन संस्थाबीच भएको कार्यगत एकताको सहमतिपछि भद्रपुरमा पहिलो पटक एकीकृत भेला गरी नेतृत्व छानिएको हो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष काफ्लेले दोस्रो संस्करणको काफ्ले वंशावली प्रकाशन र डिजिटल वंशावली निर्माण भइरहेकाले घरधुरी सर्वेक्षणमा छुट्न नहुनेमा जोड दिनुभयो ।
काफ्ले समाजका केन्द्रीय सचिव गोपाल काफ्लेले तनहुँको देवघाटमा निर्माणाधीन शाण्डिल्य सेवा आश्रम र ऋषिको प्रतिमा निर्माणका लागि सहयोगको अपेक्षा राख्नुभयो । कोशी प्रदेश अध्यक्ष चिन्तामणि काफ्लेले प्रदेशका १४ वटै जिल्लामा बन्धुहरूको लगत संकलन र संगठन विस्तारलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

झापा जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्लेले अब जिल्लाका १५ वटै पालिकालाई सक्रिय बनाएर बन्धु हितका काममा लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सचिव थिरराज काफ्लेद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

















