मलेसिया (क्वालालम्पुर) । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेर विभिन्न समस्याका कारण अलपत्र परेका सल्ल्यान जिल्ला निवासी कृष्ण विश्वकर्मा अन्ततः सुरक्षित रूपमा स्वदेश फर्किएका छन्। लामो समयदेखि विदेशी भूमिमा पीडादायी अवस्थामा रहेका विश्वकर्मालाई प्रवासी नेपाली मञ्च मलेसियाका उपाध्यक्ष एवं गैरआवासीय नेपाली संघ (NRNA) का सदस्य डिल्ली न्यौपानेको विशेष सक्रियतामा उद्धार गरिएको हो।
पीडित विश्वकर्माको अवस्था र घरपरिवारको पटक-पटकको आग्रहलाई मध्यनजर गर्दै युवा व्यवसायी एवं समाजसेवी न्यौपानेले आवश्यक कानुनी प्रक्रिया र हवाई टिकटको व्यवस्था मिलाएका थिए। आइतबार उनलाई मलेसियाबाट विदाई गरी नेपाल पठाइएको छ। परदेशमा सहाराविहीन बनेका एक नेपाली श्रमिकलाई स्वदेश फर्काउने यो कार्यलाई केवल एउटा हवाई टिकटको सहयोग मात्र नभई, प्रवासी नेपालीहरू प्रतिको गहिरो जिम्मेवारी र मानवीयताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
मलेसियामा हजारौँ नेपाली श्रमिकहरू विभिन्न कानुनी र व्यक्तिगत समस्याका कारण संकटमा परिरहेका बेला न्यौपानेजस्ता सामाजिक अभियन्ताहरूको सक्रियता आशाको बलियो आधार बनेको छ। राजनीति र व्यवसायलाई समाजसेवासँग जोड्दै आएका न्यौपानेले समस्यामा परेका नेपालीको आँसु पुछ्ने कामलाई आफ्नो प्रमुख दायित्व बताउँदै आएका छन्। उद्धार पश्चात् खुसी व्यक्त गर्दै विश्वकर्माले आफ्नै मुलुक फर्कन पाएकोमा सहयोगी हातहरूप्रति आभार प्रकट गरेका छन् भने स्थानीय समुदायले न्यौपानेको यो कदमको उच्च प्रशंसा गर्दै उनको आगामी व्यावसायिक र राजनीतिक सफलताको शुभेच्छा समेत व्यक्त गरेका छन्।

















