भद्रपुर, वैशाख

नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । भद्रपुरमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखराको आरएस फुटबल क्लबलाई ६–० को भारी गोल अन्तरले स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।


​मेची रङ्गशालामा भएको एकपक्षीय खेलमा आर्मीले सुरुदेखि नै पोखरालाई दबाबमा राखेको थियो । खेलको ११ औँ मिनेटमा दिपा शाहीको गोलबाट सुरु भएको आर्मीको गोल यात्रा ६२ औँ मिनेटसम्म निरन्तर रह्यो । आर्मीका लागि बिमला चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै २६ औँ मिनेटमा डिबक्स बाहिरबाट चिप प्रहार गरी गोल गरिन् भने २८ औँ मिनेटमा सञ्जु कुमालको क्रस पासलाई सदुपयोग गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याइन् । खेलको ३५ औँ मिनेटमा चन्द्रा भण्डारीले हेडमार्फत गोल गरेपछि पहिलो हाफमै आर्मी ४–० ले अघि बढेको थियो ।


​दोस्रो हाफमा पनि आर्मीको आक्रमण रोकिएन । ५० औँ मिनेटमा जेनिफर राना मगरले पाँचौँ गोल थपिन् भने ६२ औँ मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाइन् । पोखराका खेलाडीहरूले खेल अवधिभर आर्मीको पोष्टमा कुनै पनि उल्लेख्य आक्रमण बुन्न सकेनन् । खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै आर्मीकी बिमला चौधरीले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन् ।


​प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेलले गरेका थिए । चन्द्रगढी युवा क्लबको आयोजनामा सञ्चालित यस प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । आइतबारको खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार